मोफसलका दर्शकसँग साक्षात्कार गर्दै ‘महापुरुष’ टिम

मोफसलका दर्शकसँग साक्षात्कार गर्दै ‘महापुरुष’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत सिनेमा ‘महापुरुष’ले प्रचार-प्रसारलाई तिब्रता दिन मोफसलका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै सांगीतिक कार्यक्रमबाट मनोरञ्जन दिइरहेको छ । निर्माण टिमले असोज २५ गते पूर्वको विर्तामोडबाट मोफसल यात्राको सुरुवात गरेको थियो ।

बिर्तामोडपछि असोज २५ गते पूर्वको इटहरी र विराटनगरमा सिनेमाका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायिका रचना रिमाल लगायतले दर्शकसँग भेट गरे । मोफसलका यी तीन ठूला शहरमा उनीहरुले सिनेमाको बारेमा जानकारी दिँदै आफ्नो प्रस्तुतीमार्फत् मनोरञ्जन पनि दिएका थिए ।

पूर्वका तीनै शहरमा आयोजित कार्यक्रममा कलाकार आचार्यले आफ्नो चर्चित गीत ‘हाम्री आमा साह्रै नै बाठी छिन्’ गाएका थिए भने डेब्यू कलाकारद्वय अरुण र अञ्जनाले ‘महापुरुष’मा समावेश ‘बेमौसमी’ गीतमा रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए । सिनेमाका कलाकारलाई हेर्न दर्शकको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कलाकारको प्रस्तुतीमा पुर्वेली दर्शक झुमेका थिए ।

सिनेमाको टिमले विर्तामोड, इटहरी र विराटनगरमा कार्यक्रम गर्दै पूर्वाञ्चल प्रचार अभियानलाई पूर्णविराम लगाएको छ । पूर्वबाट निर्माण टिम पश्चिम छ । असोज २७ गते हेटौंडा पुगेको सिनेमाको टिमले त्यसपछि नारायणगढ, बुटवल र पोखरा पुगेर दर्शक भेट्नेछ । सिनेमाका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले मोफसल भ्रमणमा दर्शकको साथले उत्साहित भएको बताए ।

प्रदीप भट्टराई निर्देशित सिनेमामा शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । षट्कोण आट्र्सको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ र निर्माता म्याक्स दिपेश खत्री हुन् ।