‘नेपाल युरोपेली युनियन सिनेमा महोत्सव’को आयोजना नेपालमा

‘नेपाल युरोपेली युनियन सिनेमा महोत्सव’को आयोजना नेपालमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युरोपियन युनियनको डेलिगेशनले ११औँ ‘नेपाल युरोपेली युनियन सिनेमा महोत्सव’को आयोजना नेपालमा गर्ने भएको छ । अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म विकास बोर्डको हलमा आयोनाम हुने महोत्सवमा तेह्र युरोपेली र तीनटा नेपाली सिनेमा प्रदर्शन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

काठमाडौंपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सिनेमा महोत्सव आयोजना हुने नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले जानकारी गराइन् । सुर्खेतमा ५ युरोपियन र ३ नेपाली सिनेमा देखाइनेछ । भौतिक तथा अनलाईन दुवै माध्यमबाट उक्त महोत्सव आयोजना गरिने बताइएको छ ।

‘दुई वर्षपछि हलमा फेरि जान पाउनु र युरोपका १३ सिनेमाका साथै ३ नेपाली सिनेमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालमा हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ हिभोनेटले भनिन् ।

१३ युरोपियन सिनेमामध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एन्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् । त्यस्तै, नेपालबाट अस्कार अवार्डका लागि सिफारिस भएको ‘ऐना झ्यालको पुतली’सँगै ‘येट अनदर विन्टर’ र ‘गोर्खा गर्ल्स’ नेपाली सिनेमा महोत्सवमा प्रदर्शन हुनेछ ।

महोत्सवको सुरुवात सिनेमा ‘गड्न् अफ मोलेन्बीक’बाट हुनेछ । महोत्सव अन्तर्गत सिनेमा र सिनेमा निर्माणका विभिन्न पक्षहरूसँग अन्तरक्रिया पनि आयोजना हुने युरोपियन युनियनले जानकारी गराएको छ । सुर्खेतमा ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका सिनेमाका विद्यार्थी र सिनेमाकर्मीलाई कात्तिक २२ गते मास्टरक्लास दिने कार्यक्रम राखिएको छ ।