विशेष शोमा नेपाल सरकारका बिशिष्ट व्यक्तिले रुचाए ‘नालापानी’

विशेष शोमा नेपाल सरकारका बिशिष्ट व्यक्तिले रुचाए ‘नालापानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – देहरादुनको नालापानी गढीमा सन् १८१४ मा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईमा आधारित भएर निर्माण भएको सिनेमा ‘नालापानी’लाई संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगाएतले हेरेका छन् ।

कार्तिक ४ गते देशव्यापी प्रदर्शनमा आउने सिनेमाको आइतबार विकास बोर्डको हलमा झण्डै असी जना बिशिष्ट व्यक्तित्वमाझ बिशेष प्रदर्शन गरिएको थियो । सिनेमा हेरिसकेपछि आफ्ना भनाई राख्दै सचिव अर्यालले परम्परागत मसलेदार सिनेमा निर्माण भैरहेको समयमा ऐतिहासिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक सिनेमा बनाएकोमा निर्माता तथा निर्देशक रिमेश अधिकारी र टीमलाई बधाई दिँदै नेपालको इतिहासबारे प्रष्ट हुन हरेक नेपालीले नालापानी हेर्नुपर्ने बताए ।

सचिव अर्यालले अगाडी भने, ‘नेपाल यत्तिकै बनेको हो कि क्या हो भन्ने सोच्छौँ । हाम्रा पुर्खाले कसरी त्याग, बलिदान गरेका रहेछन् भन्ने यथार्थ चित्रण छ । हाम्रो नेपाल निर्माण हुँदा के कस्तो दुःख र समस्याबाट गुज्रेका थियौँ भनेर जान्नको लागि पनि ‘नालापानी’ हेर्न जरुरी छ ।’ निर्माणको क्रममा नेपाली सेनाले गरेको सहयोग पनि राज्यको नै सहयोग रहेको बताउँदै अर्यालले संचार मन्त्रालयले सिनेमालाई करछुटको लागि सम्बन्धित निकायमा औपचारिक रुपमा पत्राचार नै गरेको बताए ।

पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । उनले भने, ‘नेपाललाई स्वाधिन राख्न हाम्रा वीर र वीरंगानाले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण सिनेमाले गरेको छ । सिनेमामा देखाईएको महिला र बालबालिकाले समेत युद्द लडेको यथार्थ हो । अहिले इतिहासलाई अवमुल्यन गरिराखेको अवस्थामा सिनेमाको माध्यमबाट नेपाल र नेपाली जनताले फेरी एकपटक हामी स्वाभिमान छौं भन्ने अवसर ‘नालापानी’ले प्रदान गरेको छ ।’ क्षेत्रीले आफु प्रधानसेनापति रहेकै समयमा सिनेमा निर्माण भएकाले त्यसमा नेपाली सेनाले पूर्ण सहयोग गरेको जिकिर गरे ।

पूर्वसचिव उपाध्यायले अहिले सस्तो रुपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा सिनेमाले सम्झाउने बताए । ‘सिनेमामा समावेश शत्रुले पनि प्रशंसा गरेको कुराले मन छोयो । सबै नेपालीले एकपटक हेर्नैपर्छ । नालापानी धेरै अनुसन्धान गरेर बनाईएको छ । पुस्तकमा पढ्दा यतिधेरै विस्तारमा पढिएको थिएन । नालापानी निर्माण गर्ने निर्माता तथा निर्देशकको आँट देखेर म दंग छु’, उपाध्यालले भने ।

हाम्रो राष्ट्रियता संरक्षणको लागि हाम्रो इतिहास महत्वपूर्ण हुने बताउँदै केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने कुराको शिक्षा नालापानीले दिएको उल्लेख गरे । नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले सरकारले निर्माण गर्नु पर्ने सिनेमा व्यक्तिले बनाएको सन्दर्भमा सरकारले ट्याक्स फ्रि गर्नुपर्ने बताए । प्रदर्शकले सँधै नालापानी जस्ता सिनेमालाई प्राथमिकतामा राखेको कायस्थले उल्लेख गरे ।

स्टक मार्केटका लगानीकर्ता छोटेलाल रौनियारले राज्यले प्रोत्साहनस्वरुप सिनेमालाई कर छुट दिइनुपर्ने विचार व्यक्त गरे । निर्देशक अधिकारीले अहिले र आगामी पुस्तालाई पिता-पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश दिने बताए । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष सिनेमा घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण सिनेमामा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका सिनेमाका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्मातामा मनोज शाक्य र रिमेश अधिकारी छन् ।