‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार

‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाका निर्माता तथा निर्देशकलाई सिनेमा निर्माण गरेर दर्शकसम्म सिनेमाको जानकारी र्पुयाउन सबैभन्दा बढी चुनौती पुर्ण बनेको छ । अधिकांश सिनेमाका निर्माता तथा निर्देशकले सवैभन्दा बढि मेहनत पनि त्यसैमा गरिरहेको देखिन्छ । यसका लागि मेकरहरुले अनेक उपाय अपनाइरहेका हुन्छन् ।

कसैले सांगीतिक कार्यक्रमको साहरा लिन्छन् भने कसैले केही प्रतियोगिता आयोजना गरेर दर्शक आकर्षित गर्दै आएका छन् । पछिल्लो समय दर्शकसम्म पुग्ने एउटा गतिलो माध्यम बनेको छ टिकटक । सिनेमालाई दर्शकको ठूलो वर्गमा र्पुयाउन रिलिज उन्मुख सिनेमाका निर्माता तथा निर्देशकहरुले गीत तथा अन्य कन्टेन्टमाथि टिकटक प्रतियोगिता आयोजना गर्ने गरेका छन् ।

यसैक्रममा, भोली शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘के घर के डेरा’ले पनि दर्शकलाई लोभ्याउनका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चाहनेले सिनेमाको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।

डेरामा बस्दाको समस्या बोल्ने गीतमाथि टिकटक बनाएर आफ्नो फेसबुक वालमा शेयर गर्नुका साथै सिनेमाको लाइक पेजमा ट्याग गर्नुपर्ने, पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो सिनेमाको पेजमा इनबक्स (म्यासेज) गर्नुपर्नेछ । त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार पुरस्कार प्राप्त गर्ने निर्देशक दीपेन्द्र के. खनालले बताए ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्या उठान गरेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, सुब्रत राज आचार्य, डिपी खनाल र कोशिस क्षेत्रीको गीत रचना, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।