‘प्रसाद २’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित

‘प्रसाद २’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘प्रसाद २’मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । स्क्रिप्ट फाइनल भएसँगै नारायणीको भूमिकामा अनुबन्ध भएकी अभिनेत्री नम्रता श्रेष्ठले अर्को सिनेमाका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई अनुबन्धित गरेको हो । बिहीवार निर्माता र केकीबीच सम्झौता भएको थियो ।

‘प्रसाद २’लाई ‘प्रसाद’को सिक्वेल भनिएको छ । अर्थात्, अघिल्लो श्रृंखला जहाँ अन्त्य भएको थियो त्यहीँबाट सिक्वेल अगाडि बढ्ने निर्माण टिमले बताएको छ । यो हुँदा अघिल्लो श्रृंखलाकै कलाकारद्वय विपिन कार्की र नम्रता श्रेष्ठको विकल्प छैन । तर, नम्रताको ठाउँमा ‘प्रसाद २’मा केकी भित्रिएपछि फाइनल भइसकेकै कथामा सिनेमा हुन्छ वा स्क्रिप्ट परिवर्तन हुन्छ भन्ने चासो दर्शकमाझ देखिएको छ ।

केकीले पहिलो पटक हिट सिनेमाको सिरिजमा काम गर्न लागेकी हुन् । यसकारण पनि ‘प्रसाद २’लाई लिएर उनी उत्साहित छिन् । नम्रताले काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अन्ततः केकीले यो सिनेमालाई आफ्नो पोल्टामा पारेकी छन् । अब मंसिरबाट सिनेमाको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।

‘प्रसाद २’मा नम्रता नहुने भए पनि विपिन भने यथावत् छन् । अब सिनेमामा विपिन र केकीको जोडी बाँधिनेछ । सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने सिनेमामा अर्पण थापा, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । सिनेमाको कथा रंग पत्रकार शुशील पौडेलले लेखेका हुन् ।