‘लाखे’ प्रिमियरमा सेलिब्रिटीद्धारा क्लाइमेक्स र एक्सनको चर्चा

‘लाखे’ प्रिमियरमा सेलिब्रिटीद्धारा क्लाइमेक्स र एक्सनको चर्चा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाखे’को बुधबार रेडकार्पेट प्रिमियर गरिएको छ । जमलस्थित विश्वज्योति हलमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रिउ, सिनेमाकर्मी र सञ्चारकर्मीको वाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार र अतिथिले सिनेमाको एक्सन पक्षको प्रशंसा गरे । खासगरी क्लाइमेक्स दृश्यलाई पनि सेलिब्रिटीले रुचाए । सिनेमा हेरेपछि अभिनेता प्रशान्त ताम्राकारले सोचेभन्दा सिनेमा राम्रो बनेको बताए । ‘हामीले मेहनत त गरेका थियौं । सीमित स्रोत साधनको बाबजुद पर्दामा ल्याउन कठिन छ । मलाई सिनेमा हेर्दा खुसी लागेको छ,’ उनले भने ।

अभिनेता अनुपविक्रम शाहीले नेपाली आँखाले हेरे सिनेमाले निराश नबनाउने बताए । ‘हामीले एक स्टेप माथि रहेर सिनेमा निर्माण गर्ने कोसिस गरेका छौं । नेपाली आँखाले सिनेमा हेर्दा निराश बनाउँदैन । एक्सन थ्रिलर रुचाउनेका लागि लाखे पूरा प्याकेज हो,’ अभिनेता शाहीले भने ।

अर्का अभिनेता आर्यन अधिकारीले छायांकनको समयमा भएको दुर्घटना सम्झिए । उनले सुनाए, ‘पहिलो दिन नै एक जना स्टन्टम्यानको काँधमा समस्या आएको थियो । हामीले लाइभ एक्सन गरेकाले जति सावधानी अपनाए पनि जोखिम हुन्छ नै । यद्यपि, हिजो गरिएको दुःख आज सिनेमा हेर्दा बिर्सिएँ ।’

लण्डनबाट फर्किएर प्रिमियरमा सहभागी भएका अभिनेता सौगात मल्लले पनि सिनेमाले एक्सन रुचाउने दर्शकलाई हलसम्म तान्ने बताए । ‘मैले नियमित गरिरहेको भन्दा भिन्न काम गरेको छु,’ उनले भने । अभिनेता सुशील सिटौलाले चरित्रमा पस्न केही रातहरू अनिंदो बसेको सुनाए ।

सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिजन अर्यालको कथा तथा निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । सिनेमामा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।