दोस्रो सातामा ‘महापुरुष’, पहिलो साताको व्यापार कति ?

दोस्रो सातामा ‘महापुरुष’, पहिलो साताको व्यापार कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘महापुरुष’को पहिलो साताको व्यापार सार्वजनिक भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमाले पहिलो साता घरेलु बक्सअफिसबाट ४.८७ करोडको ग्रस कलेक्सन गर्यो ।

१ करोडको आक्रामक ओपनिङ गरेको सिनेमाले पहिलो सप्ताहन्तमा ३.३८ करोड ग्रस कलेक्सन गरेको थियो । बाँकी चार दिनमा सिनेमाले १.४९ करोड ग्रस कमाउन सफल भयो ।

पहिलो साताको व्यापारसंगै सिनेमाको लगानी रिकभर भएको छ । दोस्रो सातादेखिको व्यापार नाफाको हुनेछ ।

साथै प्रदीप भट्टराई निर्देशित सिनेमाले शुक्रबारदेखि दोस्रो साताको प्रदर्शन तय गरेको छ । सिनेमाको दोस्रो शुक्रबारको व्यापारपनि गज्जब देखिएको छ । दुई नयाँ सिनेमा रिलिज हुँदापनि ‘महापुरुष’ले पहिलो स्थानमा ट्रेन्ड गरिरहेको छ ।

बलियो ‘वर्ड अफ माउथ’को कारण सिनेमाले दोस्रो सातामा पनि उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ ।

एकल बुबाको कथा पेस गर्ने सिनेमा हेर्न पारिवारिक पक्षको चाप देखिएको छ । यसले बालकदेखि वृद्धसम्म हल पुर्याउन सफल भएको छ ।

निर्देशक भट्टराई कै लेखन रहेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, रविन्द्र सिंह बानियाँ, अञ्जना बराइली, राजाराम पौडेल, सिरु बिष्ट, कोपिला थापा, नरेश पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको छ ।