दोस्रो शनिबार नेपालमा ‘महापुरुष’को आक्रामक व्यापार, अमेरिकामा पनि थपियो शो

दोस्रो शनिबार नेपालमा ‘महापुरुष’को आक्रामक व्यापार, अमेरिकामा पनि थपियो शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईद्वारा निर्देशित सिनेमा ‘महापुरूष’ले दोस्रो सातामा पनि बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । पहिलो हप्ता ४ करोड ८७ लाख व्यापार गर्दै लगानी सुरक्षित गरेको सिनेमाले दोस्रो हप्ताको शुक्रवार देशभर ६० प्रतिशत माथिको अकुपेन्सी कायम गर्दा शनिवार विहानैदेखि हाउसफुल दर्शकको साथ पाएको छ ।

विशेषगरि, सिनेमाको कमाई सिंगल स्क्रिनभन्दा मल्टीप्लेक्समा राम्रो छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सबाट निर्माताले मोटो शेयर हात पार्ने देखिन्छ । शनिवार क्यूएफएक्सले आफ्नो देशभरका च्यानलमा सिनेमालाई उपलब्ध गराएको शोमा दर्शक उपस्थिति आक्रामक छ । साँझका केही शोहरु दिउँसैबाट सोल्डआउट भएका छन् ।

काठमाडौंका विग मुभिज, क्यूज सिनेमाज्, एफक्यूब सिनेमाज्, विएसआर मुभिज्, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा पनि दोस्रो हप्ता दर्शक अकुपेन्सी राम्रो रहेको रिपोर्ट प्राप्त छ । मोफसलतर्फ सिंगल तथा मल्टीप्लेक्सहरुमा पहिलो हप्ता दर्शकको राम्रो साथ पाएको सिनेमाले दोस्रो सातामा पनि उल्लेख्य साथ पाउन सफल देखिन्छ ।

बलियो ‘वर्ड अफ माउथ’ले गर्दा दोस्रो हप्ताको आइतवारबाट पनि सिनेमाप्रति दर्शकको आकर्षण घट्ने देखिन्न । लामो समयपछि हलमा परिवारसहित सिनेमा हेर्ने दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । ८०-९० वर्षका वृद्ध-वृद्धा समेत लौरो र सन्तानको सहारामा सिनेमा हेर्न हल पुगेका छन् । यो हेर्दा सिनेमाले घरेलू बक्सअफिसमा आफूलाई लामो समयसम्म टिकाइराख्ने देखिन्छ ।

नेपालमा मात्र नभइ अमेरिकामा पनि सिनेमाले दर्शकको साथ अपार पाएको छ । अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले सिनेमाको प्रदर्शन अधिकार लिएको हो । सिनेमाले अमेरिकामा व्यापारसँगै शो संख्या वृद्धि गर्दै लगेको प्रदर्शक प्रतिक सुवेदीले बताए । त्यस्तै, अष्ट्रेलियामा पनि सुखद् प्रदर्शन भइरहेको सिनेमा आउँदो हप्ताबाट क्यानडामा समेत रिलिज हुने बताइएको छ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिका रहेको सिनेमाले एकल पिताको एक्लोपनको कथालाई उठाएको छ । सिनेमाको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री रहेका छन् । निर्देशक प्रदीप भट्टराईले बक्सअफिसमा लगातार चार सिनेमा सुपरहिट दिएका छन् ।