‘डिसेम्बर फल्स’को गीतमा रोमान्टिक आर्यन र उपासना

‘डिसेम्बर फल्स’को गीतमा रोमान्टिक आर्यन र उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘डिसेम्बर फल्स’ फर्स्टलुक सार्वजनिक भएसँगै चर्चामा छ । पोस्टरबाट आशा जगाएको सिनेमाको चार दिन लगाएर ‘चार घण्टा कुरेको’ बोलको डान्सिङ गीत छायांकन गरिएको छ ।

भक्तपुर दरबार स्क्वायरमा भव्य सेट तयार गरेर खिचिएको गीतमा आर्यन र उपासना सिंह ठकुरीले नृत्य गरेका छन् । ठूलो खर्चमा तयार गरिएको गीतमा रामजी लामीछानेको कोरियोग्राफी छ । दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले दिएका हुन् ।

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीत छायांकनका तीन तस्विरमा उल्लेख्य संख्यामा कोरस डान्सर देखिएका छन् भने आर्यन र उपासनालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । तस्विरमा उनीहरुको केमेस्ट्री गजब सुहाएको छ ।

भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ सिनेमा हो । सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजाल तथा राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।