करिश्मादेखि रीमासम्मले ‘महापुरूष’ हेरेपछि प्रशंसाको ओइरो

करिश्मादेखि रीमासम्मले ‘महापुरूष’ हेरेपछि प्रशंसाको ओइरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महापुरूष’ले बक्सअफिस आक्रामक व्यापार गरिरहेको छ । उच्च प्रचार र तीन ठाउँमा गरिएको प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया बटुलेर प्रदर्शनमा आएको सिनेमाले पहिलो दिनबाटै बक्सअफिसमा आफूलाई अब्बल सावित गरेको थियो । पहिलो हप्ता ५ करोड नजिकको कमाई गरेको सिनेमाले दोस्रो साता पनि कमाईको रफ्तार कायम राखेको छ ।

बलियो ‘वर्ड अफ माउथ’को सहारामा पैसा छापिरहेको सिनेमाले तन्नेरीदेखि वृद्ध-वृद्धासम्मलाई हलमा तानेको छ । हुल बाँधेर हल पुग्नेदेखि दोर्होयाई-तेर्हेयाई सिनेमा हेर्नेसम्मको संख्या बढ्दो छ । दर्शकबाट मिलेको उत्साहजनक साथ र काठमाडौंसहितका मल्टीप्लेक्सहरुले दोस्रो साता पनि उल्लेख्य मात्रामा शो उपलब्ध गराउनुले बक्सअफिसमा ‘महापुरूष’को आयू लामो देखिन्छ ।

दर्शक प्रतिक्रिया र व्यापारबाट उत्साहित सिनेमाको टिमले पहिलो सातादेखि विभिन्न सेलिब्रेटीलाई बोलाएर सिनेमा पनि देखाइरहेको छ । आइतवार काठमाडौंको एक हलमा आयोजित ‘विशेष शो’ कलाकारहरू अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्माले सिनेमा हेरेका थिए । उनीहरुले सिनेमा उत्कृष्ट बनेको भन्दै समय र पैसा दुवै असुल रहेको उल्लेख गरे ।

करिश्माले नेपाली समाजको एउटा गम्भीर र यथार्थ कथा सिनेमाले उठान गरेकोमा प्रशंसा गरिन् । ‘सुखी मात्र नभई खुशी हुनुपर्छ भन्ने सिनेमाको सन्देश नै सशक्त छ । बुढ्यौलीमा महसुस हुने एक्लोपनमा चाहिने साथलाई सिनेमामा सरल रुपमा देखाईएको छ । सिनेमा हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ’, उनले भनिन् । सिनेमा हेर्दा आफू कति ठाउँमा भावुक भएको उनले बताइन् ।

कलाकार सन्तोष पन्तले ‘महापुरूष’ले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने बताए । ‘सिनेमाले एउटा गतिलो सन्देश दिएको छ । यस्ता सिनेमा बन्नुपर्छ । नेपाली समाजभित्रको गम्भीर विषयमा सिनेमाकर्मीको ध्यान जानुपर्छ । ‘महापुरूष’ यसमा सफल छ,’ उनले भने । अभिनेता तथा निर्माता रमेश उप्रेतीले पनि एउटा उत्कृष्ट सिनेमा हेर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे ।

आमाको साथमा सिनेमा हेर्न पुगेकी मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनयलाई शतप्रतिशत अंक दिइन् । उनले भनिन्, ‘मेरो बुबा सानैमा वित्नु भयो । आमाले नै मलाई हुर्काउनु भयो । म एकल आमाको सन्तान हुँ । सिनेमा हेरेपछि म सोच्दैछु कि उहाँ सुखी त हुनहुन्छ तर के खुसी पनि हुनहुन्छ ? यसविषयमा हामीले कुरा नै गरेका रहेनछौं ।’

सिनेमाले एकल पिताको माध्यमबाट आमा र बुबा दुवैको एक्लोपनको कथा व्यक्त गरेको उनको भनाई छ । ‘कतिपय दृश्य मलाई सामान्य लाग्दा आमा भावुक हुनुभएको थियो । किनकि, उहाँलाई बढी कनेक्ट र्गयो,’ उनले अगाडि भनिन्, ‘आफ्नो बुबा-आमाको भावना बुझ्न चाहनुहुन्छ भने यो सिनेमा सँगै बसेर हेर्नुहोला । उहाँहरूले मनमा दबाएका कुराहरु आँखाले बोल्नेछ’, रीमाले भनिन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पश्चात् कलाकार रविन्द्र सिंह बानियाँको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री र अञ्जना बराईलीको अभिनय छ । बुढ्यौलीमा विधूर पुरुषको एक्लोपनको कथामा आधारित भएर ‘महापुरूष’ निर्माण भएको हो ।