‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबारबाट ‘सिनेमाघर एप’मा गरिने

‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबारबाट ‘सिनेमाघर एप’मा गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’को डिजिटल प्रिमियर हुने भएको छ । शुक्रवारबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सिनेमा डिजिटल प्रिमियर हुन लागेको हो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एप र सिनेमाको टिमले यसबारेमा जानकारी गरायो ।

‘कबड्डी ४’ सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर सिनेमालाई डिजिटल रिलिज गर्न लागेको बताए । ‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ । त्यसैले पनि ‘कबड्डी ४’लाई हामी सिनेमाघर एपमा रिलिज गर्न लागेका हौं ।’

सिनेमाघरका सञ्चालक अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा सिनेमा रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । उनले भने, ‘यूट्युबमा सिनेमा रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली सिनेमालाई फाइदा पनि गर्दैन । अहिले सिनेमाघर निर्मातालाई यूट्युबभन्दा धेरै पैसा दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’

यूट्युबमा सित्तैमा सिनेमा हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर सिनेमा हेर्ने बानीको विकास भइरहेको बताए । दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाई गरेको उल्लेख गर्दै उनले दुई/तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।

विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको बताए । कार्यक्रममा ‘कबड्डी ४’का कलाकारहरु बुद्धि तामाङ, विजय बराललगायतको पनि उपस्थिति रहेको थियो ।

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए । उनले सिनेमाघर एपमा उपलब्ध सिनेमाहरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए ।