सिनेमामा मास्टर्स पढ्न नेपाली विद्यार्थीले अमेरिका जान पाउने

सिनेमामा मास्टर्स पढ्न नेपाली विद्यार्थीले अमेरिका जान पाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकाको न्युयोर्क सिनेमा एकेडेमी र नेपाल सिनेमा क्याम्पस र बीच सिनेमा निर्माण र विविध विषयमा सम्झौता भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच क्याम्पस प्रमुख शिशिर उप्रेती, एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलरबीच सम्झौता भएको हो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको पनि उपस्थिति थियो ।

नेपालका सिनेमा कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको सिनेमा कलेजसँग सम्झौता गरेको उप्रेतीले जानकारी दिए । उनले भने-‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीहरूले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सृजनात्मक र प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले यो पहल थालेका हौँ ।’

दुवै सिनेमा पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थीहरू आदान-प्रदान गर्नेछन् । यसरी आउने जाने विद्यार्थीहरू १ महिना, ३ महिना र ६ महिनासम्मका लागि आउन जान सक्ने कार्यक्रममा बताइयो । नेपालबाट जाने विद्यार्थीहरू न्युयोर्क, लस एञ्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन् भने यी ठाउँका विद्यार्थीहरू पनि नेपाल आउने छन् ।

नेपाल सिनेमा क्याम्पसमा ब्याचलरसम्मको अध्ययन पूरा गरिसकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले अमेरिकाको न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा सिनेमा पढ्न पाउने सम्झौता पत्रमा उल्लेख छ । विद्यार्थी आदान-प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टरक्लासको पनि आयोजना हुने बताइएको छ ।

नेपाल सिनेमा क्याम्पस र न्युयोर्क सिनेमा एकेडेमीका ब्याचलर चौंथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईका कथाको उत्खनन् गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउन ‘कथा यात्रा’को आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो । क्याम्पस प्रमुख उप्रेतीले न्युयोर्क सिनेमा एकेडेमीले सिनेमा निर्माणमा चाहिने उपकरण सित्तैमा दिने वाचा गरेको बताए ।