अमेरिका र क्यानडाबाट ‘हिजो आजका कुरा’ले सुरु गर्‍यो विदेश यात्रा

अमेरिका र क्यानडाबाट ‘हिजो आजका कुरा’ले सुरु गर्‍यो विदेश यात्रा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज २८ गतेबाट नेपालमा प्रदर्शन भएको सिनेमा ‘हिजो आजका कुरा’ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा प्रारम्भ गरेको छ । आइतवार १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा सिनेमा प्रदर्शन हुँदैछ ।

निर्देशक साकार पन्तले १८ देखि २५ नोभेम्बरसम्म अमेरिकाको डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा पनि प्रदर्शन हुने बताए । त्यस्तै, यही २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा हिजो आजका कुरा प्रदर्शन हुने पक्का भइसकेको पन्तले जानकारी गराए ।

सिनेमाको अमेरिकाका विभिन्न शहरमा क्रमशः प्रदर्शन गरिने उनी बताउँछन् । उनका अनुसार, २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुआरीनामा पनि सिनेमा प्रदर्शन हुनेछ । अष्ट्रेलियाका लागि फ्युजन मिडिया प्रोडक्शनले ‘हिजो आजका कुरा’को प्रदर्शन अधिकार लिएको हो ।

निर्देशक पन्त भन्छन्, ‘नेपालमा दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि विदेशमा सिनेमाको डिमान्ड बढेको छ । अमेरिका र अष्ट्रेलियासँगै क्यानडा, युरोप, जापानलगायतका थुप्रै देशबाट सिनेमाको माग आएको छ । हामी सकेसम्म धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’ विदेश मोहले परिवार र सम्बन्धमा पर्ने प्रभावको कथा वाचन गरेकाले पनि विदेशमा सिनेमाको माग बढेको हो ।

सिनेमामा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रीमा बिश्वकर्मा, स्वर्गीय जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी लगायतको अभिनय छ । रवि सायमीले खिचेको सिनेमाको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् ।