महानायक राजेश हमालले ‘महापुरुष’ हेरेपछि सम्झिए बुवा, निर्देशक र कलाकारको तारिफ

महानायक राजेश हमालले ‘महापुरुष’ हेरेपछि सम्झिए बुवा, निर्देशक र कलाकारको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले महजोडी अभिनित सिनेमा ‘महापुरुष’ हेरेका छन् । सोमबार बेलुका निर्देशक र कलाकारसँग बसेर सिनेमा हेरेका महानायक हमाल निर्देशक र कलाकारको प्रशंसा गरेर थाकेनन् । सिनेमाले आजको समाज र परिवारको कथालाई प्रस्तुत गरेको उनले बताए ।

अभिनेता हमालले भने- ‘क्लाइमेक्सबारे खुल्दुली लागेको थियो । समयसापेक्ष छ, कथावस्तु राम्रो छ । युवाको पक्ष ओगटेको छ । आजको समाजमा आमाबुवाको परिस्थितिलाई पनि अँगालेको छ ।’  हरेक दर्शकले सिनेमा हेरेपछि आफूलाई महसुस गर्न सक्ने हमालले बताए । ‘दर्शकको रुपमा पनि मैले सिनेमामा आफ्नो कोण देखेँ । हरेक व्यक्तिले कुनै न कुनै हिसाबबाट रिलेट गर्छ । कुनै न कुनै भावनाबाट हरेकले आफ्नो कोण देख्छ,’ उनले भने ।

वास्तविक जीवनमा पनि पिता चुडामणि हमालसँग आफ्नो लामो समय बोलचाल नभएको प्रसंगमा उनले भने, ‘सिनेमाले नाता, सम्बन्धलाई नियाल्न बाध्य बनाउँछ । यो सिनेमाले त्यही नै र्गयो ।’ प्रौढ उमेरमा मानिस एक्लो हुने र विवाह गर्नु आवश्यक रहेको हमालको मत छ । ‘प्रौढ उमेरमा व्यक्ति सन्तानबाट एक्लो हुन्छ । यतिबेला साथ चाहिन्छ,’ उनले भने ।

दर्शकले हेर्दा आनन्द आउने र रुचि हुने सिनेमा गर्नेतर्फ आफूलाई मन भएको समेत हमालले बताए । चुनावसम्बन्धी सोधिएको एक प्रश्नमा हमालले यसपटकको निर्वाचनमा उथलपुथल आउनुपर्ने बताए । ‘अहिलेको नतिजामा उथलपुथल भयो भने अबको पाँच वर्षमा मुलुकले नयाँ बाटो प्राप्त गर्नेछ,’ उनले भने ।

निर्देशक प्रदीप भट्टराईले आइडियामा रिसर्च गरेर कथावस्तु लेखिएको बताए । ‘हाम्रो टीमले एउटा आइडियामा रिसर्च गरेका थियौं । सिनेमा भोलि पनि बनाइएला, हिजो पनि बनाइएको थियो । तर दुई दिन पनि ढिला नगरी बनायौं,’ उनले भने ।

निर्देशक भट्टराईले अभिनेता हमालसँग सिनेमा गर्ने इच्छा व्यक्त गरे । ‘अबकै प्रोजेक्ट पनि हुनसक्छ कि,’ उनले भने । डेब्यु अभिनेत्री अञ्जना बराइलीले सिनेमा हेरिरहँदा आफूले हमालको एक्टिभिटिज नियालेको बताइन् । डेब्यु अभिनेता अरुण क्षेत्रीले हमालका चर्चित डायलग सुनाएका थिए ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट, डेव्यु अभिनेता अरुण क्षेत्री र डेव्यु अभिनेत्री अन्जना बराईली लगायतले अभिनय रहेको छ । सिनेमामा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री म्याक्स रहेका छन् ।