मतदानपछि महानायक हमालको घोषणा : अर्को निर्वाचनमा म पनि उम्मेदवार

मतदानपछि महानायक हमालको घोषणा : अर्को निर्वाचनमा म पनि उम्मेदवार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालले पाँच वर्षपछि हुने निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आइतवार भइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेपछि उनले अब राजनीतिमा सक्रिय हुने बताएका हुन् ।

लामो समयदेखि सक्रिय राजनीतिमा आउँने बताउँदै आएका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ ।’ उनले कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो नभइसकेको बताए । यसपालिको चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने उनको विश्वास छ । आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको उनको भनाई छ ।

गत स्थानीय निर्वाचनमा पनि हमालले आगामी निर्वाचनमा आफू कुनै भूमिकामा देखिन सक्ने संकेत गरेका थिए । उनलाई विभिन्न पार्टीले हरेक निर्वाचनमा उम्मेदवारको प्रस्ताव राख्ने गरेका छन् । तर, अहिलेसम्म उनी कुनै राजनीतिक दलप्रति खुलेका छैनन् ।