‘छक्का पञ्जा ४’को डिजिटल राइट्स महंगो मुल्यमा बिक्रि

‘छक्का पञ्जा ४’को डिजिटल राइट्स महंगो मुल्यमा बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स बिक्री भएको छ । मंगलवार ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल र निर्माता दीपकराजबीच डिजिटल राइट्स खरिद-बिक्रीको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सिनेमाको डिजिटल राइट्सको बिक्री मूल्य गोप्य राखिएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार हालसम्मकै सर्वाधिक मूल्यमा सिनेमाको डिजिटल राइट्स बिक्री भएको हो । यसअघि यति मूल्यमा कुनै नेपाली सिनेमाको डिजिटल राइट्स बिक्री भएको थिएन । प्रदर्शन अगावै डिजिटल राइट्सबाट ‘छक्का पञ्जा ४’को आधा लगानी सुरक्षित भएको छ । यसअघि ‘छक्का पञ्जा’का तीनवटै सिरिजको डिजिटल राइट्स हाइलाइट्स नेपालले खरिद गरेको थियो ।

हेमराज विसीद्वारा निर्देशित सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको अभिनय रहेको छ । सिनेमाका छायांकार नरेन्द्र मैनाली हुन् ।

आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाको अझै केही प्रतिशत छायांकन गर्न बाँकी छ । दीपक-दीपा प्रस्तुतकर्ता रहेको सिनेमामा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । ‘छक्का पञ्जा’का अघिल्ला तीनटै सिरिजले कमाईमा रेकर्ड बनाएका थिए ।