प्रिमियरमा सलोन अभिनित ‘मीलन’लाई मिश्रित प्रतिक्रिया

प्रिमियरमा सलोन अभिनित ‘मीलन’लाई मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर ९ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको लभस्टोरी सिनेमा ‘मिलन’लाई प्रिमियरमा मिश्रित प्रतिक्रिया मिलेको छ । मंगलबार साँझ कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाहरुले सिनेमाको कथावस्तु, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीतको प्रशंसा गरेका थिए ।

कलाकार तथा निर्देशक नीर शाहले युवापुस्ताको ध्यान तान्ने गरी सिनेमा निर्माण भएको बताए । ‘सिनेमाले दर्शकलाई हँसाउन र भावुक बनाउन सक्छ,’ उनले भने, ‘नेपालमा बनेका हरेक सिनेमाले सफलता हासिल गर्नुपर्छ । हामीले सिनेमाको प्रिमियरलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो ।’ शाहले नेपाली सिनेमा क्षेत्र ठूलो बन्दै गएकोमा खुसी पनि साटे ।

अर्का निर्देशक शोभित बस्नेतले सिनेमा राम्रो बनेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । बस्नेतले भने, ‘सिनेमा सामान्य होइन भयंकर राम्रो बनेको छ । मैले दोस्रो पटक सिनेमा हेरेको हुँ । केही ठाउँमा त आँसुलाई कन्ट्रोल नै गर्न सकिन्न । सिनेमा मनछुनेसँगै रमाइलो पनि छ ।’ धेरैपछि छोरा सलोन बस्नेतलाई राम्रो रोलमा प्रस्तुत गरेकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद पनि दिए ।

एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारलाई सिनेमाले प्रस्तुत गरेको छ । प्रिमियरमा डेव्यु अभिनेता कुशल शाह ठकुरी र डेव्यु अभिनेत्री शिल्पा थापाको अभिनयको प्रशंसा भएको थियो भने तेस्रोलिंगीको भूमिका निभाएका सुमिन गुरुङको कामको पनि चर्चा भएको थियो । सलोन बस्नेतले त हरेक सिनेमाबाट प्रशंसा बटुल्दै आएका छन् र ‘मिलन’को प्रिमियरमा पनि त्यो टुटेन ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको सिनेमाका निर्माता प्रविन थापा हुन् । सिनेमामा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत, राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन र कुमार महर्जनको द्वन्द्व निर्देशन छ । काठमाडौं र कालिन्चोकमा सिनेमाको छायांकन गरिएको हो ।