सलोन र करिश्मा मेहेन्दी उत्सवमा रमाए, चन्द्रागिरी रिसोर्टमा हुँदैछ विवाह

सलोन र करिश्मा मेहेन्दी उत्सवमा रमाए, चन्द्रागिरी रिसोर्टमा हुँदैछ विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत मंसिर १२ गते विवाह बन्धनमा बाँधिदै छन् । एयर होस्टेस करिश्मा केसीसँग उनले विवाह गर्दैछन् । ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् । निर्देशक तथा निर्माता शोभित बस्नेतले आफ्नो छोराको बिहे भव्य बनाउन कुनै कसर छाडेका छैनन् ।

शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो । जहाँ करिश्माले हातमा लगाएको मेहेन्दीमा आफ्नो नाम खोज्न सलोन परिवार र साथीभाईको साथमा पुगेका थिए । त्यहाँ सलोनले पनि आफ्नो हातमा मेहेन्दीले करिश्माको नाम लेखे । मेहेन्दी कार्यक्रम सकिएपछि साँझपख केटा र केटी पक्षबाट घन्टौंसम्म नाचगाना भएको थियो ।

उक्त कार्यक्रममा सलोन र शोभित निकट केही कलाकारहरुको पनि उपस्थिति थियो । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए भने वर्षा राउत र संयोग कोइराला, प्रेम जोडी पूजा शर्मा र युद्ध बानियाँ, सलिनमान बानियाँ, आमेश भण्डारीलगायत पनि उपस्थित थिए । त्यहाँ सलोन र करिश्माले केही गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

एकातिर सलोन विवाहको रमझममा व्यस्त रहँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । बिहेपछि उनी पिता शोभित बस्नेतले निर्माण गर्ने सिनेमा ‘जय होस्’मा काम गर्ने तयारीमा छन् । उनले मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा विवाहको रिसेप्सन पार्टी दिँदैछन् ।