‘महापुरुष’ले केक काटेर बाँड्यो सफलताको खुसी, चार हप्तामा कमायो १० करोड ग्रस

‘महापुरुष’ले केक काटेर बाँड्यो सफलताको खुसी, चार हप्तामा कमायो १० करोड ग्रस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएकको सिनेमा ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजी एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी साटेको छ । निर्माता म्याक्स दिपेश खत्रीले सिनेमाले ३० दिनमा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट पनि सार्वजनिक गरे ।

गत शुक्रबारबाट पाँचौं हप्तामा प्रदर्शनरत सिनेमाले ५१औं दिने यात्रा पार गर्ने निर्देशक भट्टराईले विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘व्यापार यस्तो हुनुपर्छ, यति मान्छेले हेर्नुपर्छ, यसको चाहिँ रेकर्ड तोड्नु पर्छ भनेर हामीले सिनेमा निर्माण गरेका थिएनौं । बाआमाले धेरै गर्नुभयो, उहाँहरुका लागि पनि केही गरौं भनेर मनबाट सिनेमा बनाएका थियौं र दर्शकहरुले मन पराइदिनुभयो । हामी खुसी छौं ।’

उनले अहिलेसम्म आफूले कुनै सिनेमाको रेकर्ड तोड्नका लागि सिनेमा नबनाएको बताए । ‘रेकर्ड तोड्ने उद्देश्यले नै सिनेमा बनाउन चाहेको भए ‘जात्रा’कै तेस्रो सिक्वेल बनाइन्थ्यो होला नि । तर, म मेरो काममा ग्रोथ हुनुपर्छ र देखिनुपर्छ भन्ने सोचबाट निर्देशित हुन्छु । अगाडिको कामभन्दा राम्रो गर्नुपर्छ भन्ने दबाब मलाई सधैं नै रहन्छ र ‘महापुरुष’ गर्दा पनि त्यो थियो,’ निर्देशक भट्टराईले भने ।

समीक्षकहरुले सिनेमाको क्लाइमेक्सलाई नाटकीयको संज्ञा दिएका थिए । तर, निर्देशक भट्टराईलाई यो कुरा उठ्छ भन्ने पहिल्यै थाहा रहेछ । ‘क्लाइमेक्सलाई लिएर प्रश्न उठ्छ भन्ने हामीलाई थाहा थियो,’ उनले अगाडि भने, ‘हामीसँग क्लाइमेक्सको धेरै ‘अप्सन’ थियो । तर, दर्शक भारी मन लिएर नफर्किनुहोस् भनेर क्लाइमेक्स परिवर्तन गरेनौं । हामीले जे गरेका थियौं, त्यसमा पछुतो छैन ।’

अहिले नै अब कुन नाममा र कस्तो विषयमा सिनेमा बनाउने भन्ने निर्णय नभइसकेको पनि उनले बताए । प्रदीपले ‘महाजात्रा’ सिनेमा निर्माण हुने सम्भावना भने रहेको धारणा राखे । अब आफूलाई रमाइलोसँगै संवेदनशील विषय पनि मिलाएर प्रस्तुत गर्नुृपर्ने चुनौती थपिएकाले त्यो चुनौती जित्ने ठाउँमा पुगेपछि मात्र ‘महाजात्रा’ बन्न सक्ने बताए । उनले ‘महापुरुष २’ बन्न सक्नेतर्फ पनि संकेत गरे ।

निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले सिनेमाले पाएको दर्शकको साथ र प्रतिक्रियाले आफ्नो टिमलाई थप चुनौती थपिएको बताए । त्यस्तै, निर्माता खत्रीले ‘महापुरुष’लाई चिनियाँ भाषामा सबटाइटल गरेर फेस्टिभलमा देखाउने र हिन्दी भाषामा डब गरेर डिजिटल प्लेटफर्ममा रिलिजको योजना बनाएको जानकारी दिए । उनी सिनेमाले प्रदर्शनको ५१औं दिन मनाउनेमा विश्वस्त सुनिए ।

एकल पिताको एक्लोपनको कथामा निर्माण भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय रहेको छ । सिनेमाले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि आक्रामक कमाई गरिरहेको जानकारी निर्माण टिमले दिएको छ ।