सन १९४९ को युद्ध कथा ‘गोर्खा वारियर’को पोस्टर सार्वजनिक

सन १९४९ को युद्ध कथा ‘गोर्खा वारियर’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’को तीन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा सिनेमाका डेव्यु अभिनेता रितेश चाम्सलाई सैनिक ड्रेसमा हातमा खुकुरी लिएको क्रोधित भावमा प्रस्तुत गरिएको छ ।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत पोस्टरमा समेटिएको छ । सिनेमाको दोस्रो पोष्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिकको भेषमा प्रस्तुत छन् । तेश्रो पोष्टरमा मुख्य अभिनेता १२ जना ब्रिटिस गोर्खा सैनिकको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन् ।

सिनेमाका सार्वजनिक सबै पोष्टर खैरो रँगमा तयार गरिएको छ । युद्ध सम्बन्धि ऐतिहाँसिक कथामा निर्माण गरेकाले पोष्टरको रँग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताए । ‘वार’ जनरामा निर्माण भएको सिनेमा रितेश र बिजयका अलवा रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन् । सिनेमा नेपाल सहित विश्वभरका सिनेमा हलमा एकसाथ रिलिज गर्ने तयारी भैरहेको निर्देशक चाम्सले बताए ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमाको निर्मातामा सुस्मिता वाइवा र सुमन राई छन् । प्रशान्त थापा कार्यकारी निर्माता रहेको सिनेमाको सहनिर्माता सुरेश राई हुन् । सत्य घटनामा आधारित सिनेमा अर्को बर्ष अर्थात् २०२३ मा रिलिज हुनेछ । सिनेमामा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको छ ।

सिनेमाको नेपाल र मलेशियामा छायाँकन गरिएको छ । ‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । सिनेमा नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा पनि रिलिज गरिने निर्माण टिमको तयारी छ । सिनेमाको हिन्दी भर्सन गीतमा भारतीय गायक सानको स्वर रहेको छ ।