anmol jasita

११ औं संस्करणको ‘नेफ्टा फिल्म अवार्ड’ अमेरिकाको टेक्सासमा गरिने

११ औं संस्करणको ‘नेफ्टा फिल्म अवार्ड’ अमेरिकाको टेक्सासमा गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जानकारी गराएको हो ।

यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ । सिनेमाको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु सिनेमाको ठूलो बजार बन्नु राम्रो संकेत भएको बताए ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली सिनेमा संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी सिनेमा छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने जानकारी अध्यक्ष लामाले दिए । चीन र भारतजस्ता विश्वका दुई ठूला सिनेमा बजारको बीचमा रहेको नेपालले लाभ लिन नसकेको चर्चा गर्दै अध्यक्ष लामाले विश्वलाई नेपाली सिनेमासँग जोड्ने पुलको रुपमा नेफ्टा अवार्डले भूमिका खेल्ने चर्चा गरे ।

नेफ्टा नीजि क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा सिनेमाकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

४२ विधामा वितरण हुने अवार्डमा जुरीले बैशाखमा सिनेमा हेर्ने कार्यक्रम छ । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि सिनेमा क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस संस्करणमा २०७९ सालभित्र रिलिज भएका सिनेमाले प्रतिस्पर्धा गर्ने भएका छन् ।