‘ग्रहण’बाट बाहिरिए विनय, नम्रताको जोडी बन्दै दिव्यदेव

‘ग्रहण’बाट बाहिरिए विनय, नम्रताको जोडी बन्दै दिव्यदेव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने सिनेमा ‘ग्रहण’मा समेत कलाकार हेरफेर भएका छन् । अभिनेता विनय श्रेष्ठ सिनेमाबाट बाहिरिएका छन् भने उनको ठाउँ अभिनेता दिव्यदेवको प्रवेश भएको छ ।

निर्देशक गुरुङले मुख्य अभिनेताको रुपमा दिव्यदेवले काम गर्ने करिब सहमति भएको जानकारी दिए । तर, दुई पक्षबीच कागजी सम्झौता भने भइसकेको छैन । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘चिसो एस्ट्रे’बाट दमदार रुपमा प्रवेश गरेका दिव्यदेवले सिनेमा ‘हिजो आजका कुरा’ बाट पनि अभिनयमा प्रशंसा बटुलेका थिए ।

गत वर्ष भारतको सिक्किममा घोषणा भएको ‘ग्रहण’को सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने बताइएको थियो । तर, अब सिनेमाको कथामा पनि केही परिवर्तन गरी नेपालमै छायांकन गर्ने तयारी निर्देशक गुरुङको छ । सिनेमाबाट विनय बाहिरिएका भए पनि अभिनेत्री नम्रता श्रेष्ठ यथावत् छिन् । सिनेमामा उनको भूमिका एरियल योगा इन्स्टक्टरको रहने बताइएको छ ।

हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने ‘ग्रहण’को पटकथा र संवाद विशाल सापकोटाले लेखिरहेका छन् । सिनेमाको कथा निर्देशक गुरुङ स्वयम्को हो । सिनेमामा अभिनेता सारुक ताम्राकारको पनि अभिनय रहनेछ । पौष १५ पछि सिनेमाको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।