परिवार सहित नेपाल आउँदै बलिउड अभिनेता विवेक ओबराय

परिवार सहित नेपाल आउँदै बलिउड अभिनेता विवेक ओबराय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता विवेक ओबराय परिवार सहित नेपाल आउने भएका छन् । उनी आगामी मंसिर २८ गते नेपाल आउन लागेका हुन् । उनले एक भिडियो सन्देशमार्फत् आफू श्रीमती, सन्तान र आमा-बुबाको साथमा नेपाल आएर विभिन्न ठाउँ घुम्ने बताएका छन् । व्यवसायी पुनम यादवको सुमहले उनलाई नेपाल ल्याउन लागेको हो ।

विवेकले भिडियो सन्देशमा भनेका छन्, ‘म परिवारसँग नेपाल घुम्नका लागि आउँदैछु । मलाई नेपाल आउन खुल्ला हृदयले निमन्त्रणा गरेकोमा पर्यटन क्षेत्र, नेपाल सरकार, नेपालीलाई धन्यवाद भन्न चाहन्छु । नेपालसँग भारतको सम्बन्ध सांस्कृतिक सम्पदा, धार्मिक, ऐतिहासिक रुपमा मात्र नभएर विभिन्न हिसाबले जोडिएको छ । नेपालीहरु हाम्रै हुन् र हामी पनि नेपालीका हौं ।’

आफ्नो २० वर्षको करिअरमा नेपालबाट अथाह माया मिलेको भन्दै अगाडी भनेका छन्, ‘लुम्बिनीमा भगवान् गौतम बुद्धको जन्म भएको थियो, त्यहाँ ठूलो कार्यक्रम हुँदैछ । म त्यो कार्यक्रममा सहभागी हुनेछु । नेपालीको प्रतिभालाई संसारमा चिनाउन मेरोतर्फबाट पनि सानो भूमिका रहनेमा विश्वस्त छु ।’

विवेकको नेपाल बसाई एक हप्ताको हुने पुनमले बताइन् । दुई दिन काठमाडौं बसेर उनी पोखरा प्रस्थान गर्नेछन् । त्यतैबाट उनले परिवारको साथमा हलिकप्टरमार्फत् सगरमाथा बेसक्याम्पको भ्रमण गर्नेछन् भने काठमाडौं बसाईको क्रममा पशुपतिनाथको पनि दर्शन गर्ने पुनमले जानकारी दिइन् ।

पुनमले अघिल्लो वर्ष हिन्दी गीत ‘इबादत’को निर्माण गरेकी थिइन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब सबरीको स्वर रहेको थियो । सफल व्यवसायीको रुपमा चिनिएकी पुनम नेपाली सिनेमा निर्माणको तयारीमा छिन् ।