बलिउड निर्देशक प्रकाश झा किम्फमा मुख्य वक्ता

बलिउड निर्देशक प्रकाश झा किम्फमा मुख्य वक्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)मा प्रमुख वक्ताको रुपमा सहभागी हुने भएका छन् ।

आयोजक हिमाल एसोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रुपमा सहभागि हुने जानकारी विज्ञप्तिमार्फत गराएको छ । झा अभिनित तथा एम गनी निर्देशित सिनेमा ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका सिनेमा प्रदर्शन गरिन्छन् । यसपटकको संस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी सिनेमा प्रदर्शन गरिने छन् ।

कोभिड महामारीको कारण किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, छोटो सिनेमा, एनिमेसन र प्रयोगात्मक सिनेमा देखाइने छन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

किम्फ २०२२ को शुभारम्भ हेर्ने कथा शृंखला अन्तर्गतको सिनेमा ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । यस सिनेमाले जाजरकोटका स्थानीयले गर्ने मह शिकारको कथा पेश गर्छ । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको सिनेमा ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने सिनेमाले क्रमश : दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका सिनेमालाई एक लाख र पचहत्तर नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट सिनेमाले ‘बेस्ट इसिमोड माउण्टेन सिनेमा अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने सिनेमाले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार पाउनेछ ।

किम्फ २०२२ को जुरीमा जर्मन लेखक/निर्देशक/निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन सिनेमा निर्देशक/निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन सिनेमा महोत्सवका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

काठमाडौं महानगरपालिकाको सह-आयोजनमा किम्फको बीसौं संस्करण मंसिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाएको छ ।