बलिउड निर्देशक प्रकाश झाले गरे किम्फको शुभारम्भ

बलिउड निर्देशक प्रकाश झाले गरे किम्फको शुभारम्भ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबारदेखि राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा काठमाडौं अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको बीसौं संस्करण सुरु भएको छ । बलिउड निर्देशक प्रकाश झाले फेस्टिभल शुभारम्भ गरे ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र निर्देशक झाले काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न काठमाडौं महानगरका मेयर बालेन साहलाई आग्रह गरे ।

काठमाडौं महानगर फेस्टिभलको सह-आयोजक पनि हो । ‘काठमाडौंलाई सिनेमा, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु’ अध्यक्ष थापाले भने । फेस्टिभलको वक्ताको रुपमा काठमाडौं आइपुगेका बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त सहर बनाउनुपर्ने बताए ।

झाको अभिनय रहेको सिनेमा ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन पहिलो दिन भएको छ । झासहित सिनेमा निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । सिनेमा स्क्रिनिङपछि झा र गनीले सिनेमा हेरेका दर्शकसँग सिनेमाको क्राफ्टबारे अन्तक्रिया गरे ।

ओपनिङ समारोहमा जुरीहरु किरणभक्त जोशी, जिन्ना ली र माइकल पजले किम्फसँग जोडिएको सन्दर्भबारे धारणा राखे । ‘सिनेमा निर्माण कार्य आफैमा चुनौतिपूर्ण हो, सिक्ने र धैर्य गर्ने बानी सिक्नुपर्छ’ चर्चित एनिमेटरसमेत रहेका जोशीले भने ।

समारोहमा युरोपेली युनियनको नेपाल नियोगकी उपप्रमुख जोएल इभोनेटले नेपालको सिनेमा संस्कृति विकास गर्नमा किम्फ महोत्सवले पु¥याएको योगदानको चर्चा गरिन् । युरोपेली युनियनले नेपालको जलवायु संकट, मानवअधिकार, शिक्षा स्वास्थ्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको उनले बताइन् ।

‘बाघको बङ्गारा’ प्रिमियर

महोत्सवमा कमलकुमार निर्देशित डकुमेन्ट्री ‘बाघको बंगारा’ प्रिमियर गरिएको छ । हेर्ने कथा श्रृंखलाकी संचालिका विद्या चापागाईले निर्माण गरेको सिनेमाले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर महशिकारको कथा भन्छ ।

५५ मिनेट लामो सिनेमाले शारीरिक र मानसिक यात्राको कथा पनि पेश गर्छ । प्रिमियरपछि निर्मात्री चापागाइ र निर्देशक कुमारले दर्शकसँग सिनेमा छायांकन बारेको अनुभव पनि साँटे ।

‘बाघको बंगारा’ लगत्तै सम्राट खनाल निर्देशित ३३ मिनेट लामो डकुमेन्ट्री ‘थ्रु द सिंगिङ भिलेज’को विश्व प्रिमियर पनि भयो । यसपछि जाकुब जेला निर्देशित ४६ मिनेट लामो ‘दु सार : अ काराकोरम स्की एक्सपिडिसन सिनेमा’ प्रदर्शन गरियो ।