रघुनाथको ‘चिलगाडी’ उडाउँदै ‘मन्त्र’ निर्देशक गुरुङ

रघुनाथको ‘चिलगाडी’ उडाउँदै ‘मन्त्र’ निर्देशक गुरुङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार रघुनाथ सापकोटा सिनेमा ‘चिलगाडी’ निर्माणको तयारीमा छन् । उनले २ बर्ष अगाडी नै यो सिनेमाको निर्माण घोषणा गरेका थिए । तर, कोरोना महामारीका कारण सिनेमा निर्माण हुन सकेको थिएन ।

कोरोना महामारी सकिएर सिनेमाले हलसम्म दर्शक फर्किने अवस्था बनेसँगै चिलगाडी छायांकन सुरु गर्ने तयारीमा निर्माता रघुनाथ सापकोटा जुटेका छन् । सिनेमाको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली थिए । तर, उनले कार्यव्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ उडाउने जिम्मा ‘मन्त्र’ निर्देशक खिलबहादुर गुरुङले पाएका हुन् ।

बिहीवार निर्माता सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो । निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्यमा लाग्ने निर्माता सापककोटाले जानकारी दिए । सिनेमाको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । आगामी माघबाट छायांकन सुरु हुने सिनेमालाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ ।

सेलिब्रेटी नेपालको ब्यानरमा सिनेमा निर्माण हुनेछ । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुन लागेको सिनेमा हास्य प्रधान हुने निर्देशक गुरुङ बताउँछन् । ‘चिलगाडी’ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सन्देश दिने निर्माता सापकोटाले बताए । नेपाली समाजको कहालीलाग्दो तथा यथार्थ पाटोलाई सिनेमाले सशक्त रुपमा प्रस्तुत गर्ने उनी बताउँछन् ।