तीन वर्षपछि साम्राज्ञी र पुष्पको सहकार्य, ४ वर्षमा फर्किए रमेश एमके पौडेल

तीन वर्षपछि साम्राज्ञी र पुष्पको सहकार्य, ४ वर्षमा फर्किए रमेश एमके पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण झन्डै १ महिना नेपाली सिनेमा क्षेत्रको निर्माण र प्रदर्शनका काम प्रभावित भए ।

मंसिर ४ को निर्वाचनले दुई साता अगाडी र दुई साता पछाडी सबैको ध्यान केन्द्रित गर्ने भएकाले एकाध सिनेमा बाहेकका ठुला सिनेमाले प्रचार र प्रदर्शनको काम रोके ।

देशैभरको चुनावी नतिजा आएसंगै फेरि सिनेकर्मीको चहलपहल बढेको छ । बिहिबार राजधानीमा सिनेमा ‘तिम्रो मेरो साथ’ले प्रेसमिट आयोजना गर्दै एउटा गीत सार्वजनिक गर्यो ।

रमेश एमके पौडेलको डेब्यु निर्देशन रहेको ‘तिम्रो मेरो साथ’ चुनावपछि रिलिज हुन लागेको आशा गरिएको सिनेमा हो ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री बिहिबारको प्रेसमिटमा उपस्थित हुँदा मिडियाको केन्द्रमा रहे । केहि समयको विश्रामपछि पुन: मिडियासंग अन्तरक्रिया गर्न पाउँदा निर्माण पक्ष दंग थियो ।

‘तिम्रो मेरो साथको यो पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन् पाउँदा हाम्रो टिममा एक किसिमको खुसियाली र उत्साह जागेको छ । दुई वर्षदेखिको हाम्रो काम दर्शक माँझ पुर्याउन पाउँदा खुसि छौं । आशा छ हामीले गरेको प्रयास असफल हुने छैन ।’ मिडियाकर्मीलाई धन्यवाद दिंदै पुष्प सिनेमाप्रति आशावादी देखिए ।

तीन वर्षपछि ठुलोपर्दामा झुल्किन लागेकी अभिनेत्री शाहले लामो समयपछि मिडिया माँझ उपस्थित हुँदा मन प्रफुल्लित भएको बताइन ।

‘प्रेसमिटमा छिर्न बितिकै एकदमै गुड फील भयो । मलाई आज कुनै कुराको चिन्ता छैन । सकारात्मक/नकारात्मक केहि पनि सोचेकी छैन । मैले मिस गरें । यो तीन वर्ष जतिपनि दु:ख गरें । अहिले सिनेमा रिलिज हुँदा खुसि मिलेको छ ।’ शाहले खुसि साटिन ।

को-स्टार पुष्पसंग दोस्रो पटक काम गर्दा सजिलो भएको र निर्माण टिमको साथ सहयोगले गर्दा सिनेमा राम्रो बनेको भन्दै साम्राज्ञीले एकपटक हेरिदिन आग्रह गरिन ।

पुष्प र साम्राज्ञीले तीन वर्ष अगाडी रिलिज भएको सिनेमा ‘मारुनी’पछि संगै काम गरेका हुन् ।

बिहिबार रिलिज क्लब गीत ‘जोश छ जवानीको’मा नृत्य गर्दा केहि अप्ठेरो महशुस भएपनि कोरियोग्राफर रामजी लामिछानेको प्रोत्साहनले राम्रो नतिजा निस्केको बताइन ।

संचारकर्म, सिनेमा निर्माणहुँदै निर्देशनमा हात हालेका रमेश एमके पौडेलले नेपाली सिनेमा क्षेत्रमा केहि योगदान दिने भन्ने हेतुले ‘तिम्रो मेरो साथ’ निर्देशन गरेको बताए ।

‘नेपाली सिनेमामा एउटा योगदान दिउँ भन्ने उद्येश्यले पहिलो पटक निर्देशनमापनि हात हाल्न पुगेँ म । हुनत् मिडियासंगको मेरो सम्बन्ध र झुकाव २० वर्ष भन्दा लामो छ । मिडिया, सिनेमा निर्माणहुँदै निर्देशनमा आएँ । नेपाली सिनेमाको बजार विस्तारमा साथ पुर्याउने उधेश्यसहित यो सिनेमा पुष २९ मा नेपालसंगै अमेरिका र विश्वका अन्य देशमा एक साथ रिलिज गर्दैछौं । आशा छ यो कार्यमा सबैको साथ र सहयोग पाउनेछु ।’ निर्देशक पौडेलले भने ।

निर्देशक पौडेलले यसअघि ‘रज्जा रानी’मा निर्माता र ‘रुद्रप्रिया’मा कार्यकारी निर्माताको भूमिका निर्वाह गरिसकेका छन् ।

उनि निर्मित पछिल्लो सिनेमा ‘रज्जा रानी’ चार वर्ष अगाडी सार्वजनिक प्रदर्शनमा आएको थियो ।

यस्तै सिनेमाका अर्का कलाकार सन्दीप क्षेत्री गीत छायांकनका रमाइला किस्सा सुनाउदै प्रेसमिटमा हाँसोको फोहोरा छुटाएका थिए ।

पुष २९ देखि विश्वव्यापी प्रदर्शनमा आउने सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

शिव ढकालले छायांकन गरेको सिनेमामा सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

सबिर श्रेष्ठको लेखन र कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।

प्रेमकथानक सिनेमाको टिजर र ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भैसकेका छन् । प्रचारका उक्त सामाग्रीको सफलताले ‘तिम्रो मेरो साथ’को चर्चा चुलिँदै गएको छ ।