हलमा विश्वकप फुटबल प्रशारण नगर्न बिकास बोर्डको पत्राचार

हलमा विश्वकप फुटबल प्रशारण नगर्न बिकास बोर्डको पत्राचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र बिकास बोर्डले हल संचालकलाई विश्वकप फुटबलको प्रशारण नगर्न आग्रह गरेको छ ।

अध्यक्ष भुवन केसीले सम्बन्धित हलहरुलाई हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका छन् ।

‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’ बिज्ञप्तिमा भनिएको छ ।

बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

नेपाल चलचित्र संघको आपत्ति

विश्वकप फुटबल प्रशारण नगर्न बोर्डले पत्राचार गरेसंगै चलचित्र संघले आपत्ति जनाएको छ । संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन अवज्ञा गर्दै हलवालाहरुलाई विश्वकप देखाउन अपिल गरेका छन ।

‘बोर्डले आफ्नो नियम बनाउला, हामी आफ्नो नियम बनाउँछौं । इच्छुक हलले फुटबल देखाउँछन् । आउने परिस्थितिको सामना गर्न हामी तयार छौं । भुवन केसीजीको नियत फिल्म हल बन्द गर्ने देखियो,’ महासचिव महर्जनले भने, ‘विदेशी फिल्मसरह कर बुझाएर फुटबल देखाउन सुरुमा भनियो र हामीले तयारी गर्‍यौं । तर अहिले आएर नगर्नुस् भनियो । बोर्ड नै भुवन केसीको नियन्त्रणबाहिर गएजस्तो लाग्दैछ ।’

विश्वकप प्रशारण गर्न नपाउने बोर्डको आदेशसंगै बोर्डले नै केहि दिन अगाडी हलवालालाई प्रशारणको लागि पत्राचार र कोड पठाएको सत्यता बाहिरिएको छ । पहिले आफै विश्वकप देखाउ भन्ने र अहिले निर्णय परिवर्तन गरेकोमा बोर्डप्रति विरोध सुरु भएको छ ।