यार्सागुम्बा र बाबुको सपनाको कथा किम्फमा उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमा

यार्सागुम्बा र बाबुको सपनाको कथा किम्फमा उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – क्यानडा र अमेरिकाका दुई सिनेमा काठमाडौं अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (किम्फ)मा सर्वोत्कृष्ट घोषित भएका छन् । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे ।

मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढंगले पेश गर्छ । ‘सुदुर भूगोलका बासिन्दाको जीवन बाँच्ने सपनाको प्रयत्नले हामीलाई आजको परिस्थिती नेपालमा मात्र नभएर अन्यत्र पनि हुनसक्छ भन्ने कुराको बोध गराउँछ’ उक्त सिनेमालाई अवार्ड दिँदै जुरीले भनेका छन् ।

अमेरिकी निर्देशक सीन ओकनर निर्देशित ‘कुमारीः अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ । ‘यसको कथावस्तु निकै प्रेरक ढंगले भनिएको छ’ अवार्ड दिँदै जुरीले भनेका छन् ।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्धय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए । नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो ।

अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो । नेपाल पानोरमा तर्फ इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्तरुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाई र कमलकुमारको सिनेमा ‘हेर्ने कथा’ श्रृंखला अन्तर्गतको सिनेमा ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।

यसपटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीको रुपमा थिए । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम सिनेमा चाहिँ अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो ।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सह-आयोजनामा भएको फेस्टिभलको बीसौं संस्करणमा यसपटक ३० मुलुकका ६० सिनेमा स्क्रिनिङ भएका हुन् । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका सिनेमा प्रदर्शन गरिएको किम्फको यसपटकको नारा चाहिँ ‘दिगो आरोहण’ थियो ।

किम्फ समापन समारोहमा बोल्दै राष्ट्रसंघीय नियोग युनेस्कोका नेपाल प्रमुख माइकल क्रफ्टले किम्फसँग सहकार्य गर्न पाउँदा युनेस्कोले खुशि महसुस गरेको बताए । हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले महोत्सवलाई निरन्तरता दिनु चुनौतिपूर्ण भएपनि दर्शकीय उपस्थितीले उत्साह थपेको बताए ।