‘प्रसाद २’को छायांकन सुरु, विपिन र केकीले जोडी बाँध्दै

‘प्रसाद २’को छायांकन सुरु, विपिन र केकीले जोडी बाँध्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिभिन्न उतारचढावपछि सिनेमा ‘प्रसाद २’ छायांकनमा उत्रिएको छ ।

बिहिबार कास्कीको पर्यटकीय ल्वाङ गाउँमा पूजाआजा गरेर निर्माण पक्ष छायांकनमा निस्किएको हो । यसअघि कलाकार, निर्देशक र स्क्रिप्ट परिवर्तनका कारण सिनेमा लामो समयदेखि फ्लोरमा निस्कन सकेको थिएन ।

४० दिने छायांकन सेड्युल निकालेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । रंगपत्रकार सुशील पौडेलको लेखन रहेको सिनेमामा विपिन कार्की र केकी अधिकारीले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

अभिनयमा पोख्त विपिन र केकीको यो पहिलो सहकार्य हो । यसअघि विपिन अभिनित ‘सेल्फी किङ’मा केकीले अतिथि भूमिका निर्वाह गरेकी थिइन् ।

चार वर्ष अगाडीको हिट सिनेमा ‘प्रसाद’को सिक्वेलमा नम्रता श्रेष्ठ हुने छैनन् । अन्य सिनेमाको सेड्युल जुधेपछि हात झिकेकी नम्रताको ठाउँ केकीले लिएकी हुन् । सिनेमामा निश्चल बस्नेतपनि रहने छैनन् ।

राजेश श्रेष्ठको छायांकन रहने सिनेमामा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

राजनराज सिवाकोटीको संगीत र उत्तम न्यौपानेको ध्वनी रहने सिनेमामा सुवास थापाको कार्यकारी निर्माण र सुदर्शन बस्नेतको निर्माण रहनेछ ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको व्यानरमा निर्माण हुने सिनेमा घोषणादेखि प्रतिक्षितको सूचीमा समावेश छ ।

नि:सन्तान दम्पति र छुवाछुतको कथा बुनेको ‘प्रसाद’लाई दर्शक तथा समिक्षकले रुचाएका थिए ।