कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिंदै ‘महापुरुष’ टिम

कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिंदै ‘महापुरुष’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार ५१ औं दिन प्रदर्शन पुरा गरेको उपलक्ष्यमा सिनेमा ‘महापुरुष’ टिमले राजधानीमा कार्यक्रम आयोजना गर्यो ।

निर्माण पक्षले मिडियाको अगाडी केक काटेर खुसियाली मनायो । केक काट्ने काम सकिएसंगै निर्माण पक्ष जलवायु परिवर्तनको मुद्धामा केन्द्रित देखियो ।

‘महापुरुष’ निर्माणको क्रममा ६.४ टन कार्बन उत्सर्जन भएको भन्दै निर्माण पक्षले त्यसको न्यूनीकरणका लागि बुनिएका योजना सुनायो । अब ‘महापुरुष’ टिमले २६६ वटा रुख रोप्ने वा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्नेछ । यसो गर्दा ‘महापुरुष’ नेपाल कै पहिलो कार्बन न्यूट्रल सिनेमा बन्नेछ ।

पछिल्लो समय नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । नेपाल आफैपनि अन्य देशभन्दा कम कार्बन उत्सर्जन गर्ने देशमा परेपनि बाहिरि कार्बन उत्सर्जनको कारण नेपाली हिमालय जोखिममा परेको छ ।

कार्बन उत्सर्जन न्यूनीकरणको मुद्धामा ‘महापुरुष’ टिमले गर्न लागेको कार्य सराहनीय छ । सिनेमाका मुख्य कलाकार हरिवंश आचार्यले आफ्नो गाउँमा डेढ सय रुख रोप्ने योजना सुनाए । साथै उक्त रुखको सिंचाईको निमित्त पानीट्यांकी निर्माण भैरहेको जानकारी दिए ।

निर्माता म्याक्स दिपेश खत्रीले दिएको जानकारी अनुसार ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिनसम्म १० करोड ७० लाख ग्रस कलेक्सन गरिसकेको छ । र यो वर्षको दोस्रो ब्लकबस्टर सिनेमा सावित भएको छ । यसअघि ‘कबड्डी ४’ ब्लकबस्टर सावित भएको थियो ।

रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको सिनेमामा हरिवंश आचार्यसंगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, रविन्द्र सिंह बानियाँ, अञ्जना बराइली, राजाराम पौडेल, सिरु विष्टलगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप भट्टराई लेखन तथा निर्देशनमा तयार सिनेमामा दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

‘महापुरुष’ निर्देशक भट्टराईको ५१ दिन मनाउने चौथों सिनेमा हो । यसअघि उनका ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रुगते’ले यो सफलता हात पारेका थिए ।