हिमाल पग्लिएको कथाको सिनेमा प्रिमियर गर्दै मानवअधिकार सिनेमा महोत्सव सुरु

हिमाल पग्लिएको कथाको सिनेमा प्रिमियर गर्दै मानवअधिकार सिनेमा महोत्सव सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ को १० औं संस्करण सुरु भएको छ । सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिनेमा महोत्सवकको सरुवात गरिएको हो ।

मानवअधिकार सिनेमा केन्द्रको आयोजनामा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको महोत्सव आगामी पुस ६ गतेसम्म चल्नेछ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको शुभारम्भ गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले पछाडि पारिएका, दूरदराजमा बस्ने र सीमान्तकृत मानिसलाई मानवअधिकारबारे बुझाउनु जरुरी रहेको बताए । मानवअधिकार सम्बन्धी सन्धिलाई तल्लो तहसम्म र्पुयाउन जरुरी रहेको उनको भनाइ छ । सिनेमाले मानवअधिकारबाट बञ्चित मानिसलाई अधिकारबारे जानकारी दिन भूमिका खेल्ने बताए ।

आयोगले पनि केही छोटा सिनेमा निर्माण गरेर अधिकार बारेमा सन्देश प्रवाह गर्न खोजेको उनको भनाई छ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना भएको महोत्सव शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ प्रिमियरसँगै सुरु भएको थियो ।

समापन समारोहमा भने दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । नेपालसहित २५ देशका ६४ सिनेमा र डकुमेन्ट्री देखाइने छ । नेपाली निर्देशक अविनाशविक्रम शाह, भारतीय लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, दक्षिण कोरियाका मानवअधिकार अभियन्ता सु-ली दिलबर र इजरायली निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।

महोत्सव निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी सिनेमा निर्माण शैली, कथा छनोट, वाचन, पात्र चयन र अभिनयबारे सिकाइने भएको छ । उत्कृष्ट सिनेमालाई नगदसहित अवार्ड प्रदान गरिने छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।