मानवअधिकार सिनेमा महोत्सवमा दयाहाङ राईको ‘फोर नाइट्स’ सर्वोत्कृष्ट

मानवअधिकार सिनेमा महोत्सवमा दयाहाङ राईको ‘फोर नाइट्स’ सर्वोत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशौं मानवअधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा दीपक रौनियार निर्देशित सिनेमा ‘फोर नाइट्स’ले सर्वोत्कृष्ट नेपाली फिक्सन सिनेमाको अवार्ड जितेको छ ।

सिनेमा निर्माताको सिर्जनशीलता र संघर्षलाई उठाएको सिनेमाबाट अवार्ड ग्रहण गर्दै अभिनेता दयाहाङ राईले खुशी व्यक्त गरे । सिनेमा रिलिजपछि अभिनेता दयाहाङ राईसँग छलफल समेत चलाइएको थियो । निर्देशक रौनियारले आफ्नै फिचर सिनेमा ‘सेतो सूर्य’को वास्तविक कथालाई यसमा समेटेको अनुमान छ ।

बर्लिन सिनेमा महोत्सवमा विश्व प्रिमियर भएको छोटो सिनेमाले सिनेमा निर्माण गर्न गरिने संघर्ष गरिरहेका सिनेमामेकरको चार रातसम्मको कथा भन्छ । नेपाली खण्डतर्फ पिंकी श्रीश रानाको ‘हजुर’ र सन्तोष दाहाल निर्देशित ‘द मिराज’ पुरस्कृत भएका छन् । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ उत्कृष्ट नन-फिक्सन नेपाली सिनेमा घोषित भएको छ ।

यस्तै स्पेसल मेन्सन विधातर्फ सम्राट खनाल निर्देशित सिनेमा ‘थ्रु द सिङ्गिङ भिलेज एण्ड डेथ्स अनएक्सप्लेन्ड’ उत्कृष्ट बन्यो । अन्तर्राष्ट्रिय खण्डतर्फ लिरिस हर्म निर्देशित फिनल्याण्डको सिनेमा ‘सेपहड्र्स अफ द अर्थ’ उत्कृष्ट नन-फिक्सन अन्तर्राष्ट्रिय सिनेमा घोषित भयो । डेराया डेनिज निर्देशित रुसी सिनेमा ‘हेजा’ले स्पेसल मेन्सन अवार्ड हात पार्यो ।

छोटो सिनेमातर्फ स्पेसल मेन्सन चाहिं ‘द क्रिमिनल्स’ र ‘आयशा’ घोषित भए । जुरी स्पेसल मेन्सन अमेरिकाको एनिमेटेड सिनेमा ‘मिजुको’ बन्यो । उत्कृष्ट घोषित सिनेमालाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले पुरस्कार वितरण गरे । मानवअधिकार केन्द्रको आयोजनामा भएको फेस्टिभल चार दिनसम्म नेपाल पर्यटन बोर्डमा चलेको थियो ।

यसपटक फेस्टिभलको नारा ‘वातावरणीय न्याय’ थियो । दशौं संस्करणको मानवअधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा ३९ नेपाली र ३४ विदेशी गरी कुल ६४ सिनेमा प्रदर्शन गरिएको आयोजक संस्थाले जानककारी दिएको छ ।