बिकास बोर्डविरुद्ध चलचित्र संघको चरणबद्ध आन्दोलन घोषणा

बिकास बोर्डविरुद्ध चलचित्र संघको चरणबद्ध आन्दोलन घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र बिकास बोर्डविरुद्ध नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

बुधबार राजधानीमा संघका देशभरका सय बढी सदस्यको भेलाले बोर्डको काम कारबाहीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरिएको विज्ञप्तिमा बोर्ड निश्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापन गर्ने खालका क्रियाकलापहरु गरेको निष्कर्ष निकालेको उल्लेख छ ।

पटक-पटकको वार्तामा पनि बोर्डले चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापुर्वक नलिएको र व्यवसायलाई एकपछि अर्को निर्णयबाट विस्थापित गर्ने खालको गतिविधि हुँदै गएको उल्लेख गर्दै ४ बुँदे चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

पुष १२ मा संचारमन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १५ देखि १७ गतेसम्म कालोपट्टी बाँधेर हलमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ । उक्त मितिसम्मपनि मन्त्रालयले ठोस सम्बोधन नगरे बिकास बोर्डमा धर्ना र तालाबन्दी गर्ने निर्णय भएको छ ।

एक साताअघि नै सिनेमा सेन्सर हुनुपर्ने, राति १० बजेपछि सिनेमा प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।