भारतीय टेक्निसियनबाट राम्रो नतिजा पाएँन, नेपालीलाई प्राथमिकता दिउँ – मिलन चाम्स

भारतीय टेक्निसियनबाट राम्रो नतिजा पाएँन, नेपालीलाई प्राथमिकता दिउँ – मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कुनै समय थियो जतिबेला नेपाली सिनेमाको टेक्निकल कार्य बलिउड नगरी मुम्बईमा हुन्थ्यो । समयको गतिसंगै भित्रिएको डिजिटल यूगले मुम्बई जानुपर्ने झन्झट हटायो ।

पछिल्लो समय अधिकांस सिनेमाको टेक्निकल काम नेपाल मै हुन्छ । तर ‘प्रेमगीत ३’को हिन्दि संस्करणपछि पुन: केहि सिनेकर्मी मुम्बई धाउन थालेका छन् ।

मुम्बईमा नेपालमा भन्दा राम्रो टेक्निसियन र प्रविधि हुने भएकाले मेकरहरु त्यसतर्फ जान थालेका छन् । नेपाली मेकरहरुलाई मुम्बईमा काम गर्दा तुलनात्मक रुपमा सिनेमा राम्रो बन्छ भन्ने विश्वास छ ।

तर, निर्देशक मिलन चाम्स भने भारतीय भन्दा नेपाली टेक्निसियनले काममा सन्तुष्टि दिएको र भारतीय टेक्निसियनबाट आफुले सोचेजस्तो नतिजा नपाएको बताउछन ।

बिहिबार राजधानीमा आयोजित सिनेमा ‘गोर्खा वारियर’को प्रेसमिटमा बोल्दै चाम्सले भने, ‘यो सिनेमामा बलिउड र हलिउडका केहि टेक्निसियनलेपनि काम गर्नु भएको छ । मैले उहाँहरुलाई त्यति प्राथमिकतामा राख्न सकिनं । किनभने मैले मुम्बईमा देखें, यूकेमा पनि काम देखें । तर काम गर्ने तरिका फरक रैनछ । हाम्रो टेक्निसियनले पनि काम गर्न सक्दो रहेछ भन्ने प्रमाणित भयो ।’

‘कति कुरामा महँगो पैसा तिरेर मुम्बईमा काम गर्दा मैले राम्रो नतिजा पाइन् । म सन्तुष्ट भइनं । बरु त्यो सन्तुष्टि नेपालका टेक्निसियनले दिए । त्यसैले हामीले नेपाली टेक्निसियनलाई प्राथमिकतामा राख्नु पर्छ । दृष्टिकोण परिवर्तन गर्न सकेमा सब कुरा ठिक हुँदो रहेछ ।’ चाम्सले आफ्नो मुम्बई अनुभवबारे बेलिबिस्तार लगाए ।

चाम्सले नेपाली सिनेमालाई विश्वबजारमा लैजान ठुलो कुरा नभएको र पब्लिसिटीमा पैसा खर्च गर्न सके नेपाली सिनेमा जसलेपनि विश्वबजारमा पुर्याउन सक्ने बताए ।

चाम्स निर्देशित ‘गोर्खा वारियर’को टिजर बिहिबार सार्वजनिक गरिएको छ ।

सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथा प्रस्तुत गर्ने सिनेमामा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाको निर्माता सुस्मिता वाइवा र सुमन राई हुन् ।

प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको सिनेमाको सह निर्मातामा सुरेश राई छन् । नेपाल र मलेशियामा खिचिएको सिनेमामा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको स्वर रहेको छ ।