‘हिजो आजका कुरा’ अष्ट्रेलियाका विभिन्न शहरमा देखाउँदै साकार

‘हिजो आजका कुरा’ अष्ट्रेलियाका विभिन्न शहरमा देखाउँदै साकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मल्टीस्टारर सिनेमा ‘हिजो आजका कुरा’ले अहिले विदेशका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ । अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अष्ट्रेलिया आइपुगेको छ । सिनेमाको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अष्ट्रेलिया उडेका थिए ।

सिनेमामा अभिनय समेत गरेका उनले दर्शकको मागअनुसार आफू अष्ट्रेलिया पुगेको बताएका छन् । उनले भने, ‘अष्ट्रेलियाका विभिन्न शहरमा सिनेमा शो भैसकेको छ । सिनेमाको प्रशंसा भइसकेको छ । त्यसैले पूर्वनिर्धारित भन्दा बढी शो थपिएका छन् । अझै केही साता शो निरन्तर रहन्छ ।’

साकारले २२ डिसेम्बर बिहीबारमा अष्ट्रेलियाको क्विनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र सिनेमालाई सकारात्मक प्रतिक्रिया मिलेको जानकारी दिए । डर्विन क्याथरिन र ब्रिसवेनमा यसअघि नै सिनेमाको शो भैसकेको छन्, भने आगामी २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट र २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुँदैछ ।

अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले प्रदर्शनमा साथ दिएको छ । त्यस्तै, अमेरिकामा सिनेमाको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म सिनेमा प्रदर्शन सुरु भएको पन्तले बताए । ‘विदेशमा ‘हिजो आजका कुरा’प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्, ‘अमेरिका, अष्ट्रेलिया झैं क्यानडा, युरोप, जापानसहित अन्य धेरै देशबाट सिनेमाको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौं ।’

नेपालमा औसत व्यापार गरेको सिनेमाले विदेश मोहले परिवारमा पर्ने प्रभावको कथा वाचन गरेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाको कथा सन्तोष पन्त र पटकथा सन्दिप किस्नाले लेखेका हुन् । सिनेमा नेपाली बक्सअफिसमा गत असोज २८ गतेबाट प्रदर्शनमा आएको थियो । नेपालमा औषत व्यापार गरेको सिनेमाले विदेशमा राम्रो व्यापार गरिरहेको छ ।

रवि सायमीले खिचेको सिनेमामा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्वं जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी लगायतको अभिनय छ ।