लक्ष्मणको अनटाइटल सिनेमाको मुख्य भुमिकामा मलिका अनुबन्धित

लक्ष्मणको अनटाइटल सिनेमाको मुख्य भुमिकामा मलिका अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री मलिका महत रंग पत्रकारिताबाट निर्देशक बनेका लक्ष्मण सुवेदीको कमब्याक सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । मंगलबार उनीहरुबीच कागजी सम्झौता भएको हो । अनटाइटल सिनेमाको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन् ।

सिनेमामा उनी शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले बताए । आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने सिनेमामा निर्देशक सुवेदी स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । सिनेमाको सम्पुर्ण छायांकन गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारी निर्माण टिमको छ ।

नारी प्रधान सिनेमामा मलिकाको भूमिका बलियो रहेको निर्देशक सुवेदीले बताए । चलचित्र विकास बोर्डमा दर्ता हुन बाँकी भएकाले सिनेमाको नाम अहिलेलाई गोप्य राखिएको छ । दिलासा कृएसनको ब्यानरमा निर्माण हुने सिनेमामा मलिकाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने जानकारी दिए ।

छायांकनमा निस्कनुअघि एकहप्ता वर्कसप पनि हुने निर्देशक सुवेदी बताउँछन् । उनले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने दाबी गरेका छन् । उनले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ सिनेमाको निर्माण तथा निर्देशन गरेका थिए । निर्देशक सुवेदीले थुप्रै सिनेमाको कथा, पटकथा तथा संवाद लेखिसकेका छन् ।

निर्देशक सुवेदीले केही समय अगाडी सिनेमा ‘ठगराज’ निर्माण तथा निर्देशनको घोषणा गरेका थिए । सिनेमाका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, सिनेमाको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले मलिकालाई लिएर नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् । यो सिनेमा रिलिजपछि ‘ठगराज’ छायांकनको तयारी भैरहेको छ ।