शुक्रबारबाट प्रदर्शनमा आयो आर्यन र उपासना अभिनित ‘डिसेम्बर फल्स’

शुक्रबारबाट प्रदर्शनमा आयो आर्यन र उपासना अभिनित ‘डिसेम्बर फल्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शनमा आएको सिनेमाले दर्शकबाट माउथ पब्लिसिटी राम्रो मिलेको खण्डमा सिनेमाले राम्रो ब्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

बलिउड र हलिउड सिनेमा समेत रिलिज नभएको अवस्थामा रिलिज भएको डिसेम्बर फल्सबाट अभिनेता आर्यन सिग्देल निकै ठुलो अपेक्षा छ । निर्माण टिमले दिएको जानकारी अनुसार स्कृप्टदेखि पोष्ट-प्रोडक्सनसम्म आर्यन आफै बसेर काम गरेका छन् । जसको प्रतिफल दर्शकबाट मिल्ने आश उनलाई छ ।

देशभरका मल्टीप्लेक्समा सुखद् शोज पाएको सिनेमाले सिंगल थिएटर एकलौटी कब्जा जमाएको छ । सिनेमाको सार्वजनिक गीत-संगीत, टिजर-ट्रेलरले निर्माण गरेको हाइप कारण इनिसियल व्यापार सुखद् हुने प्रक्षेपण सिनेमाकर्मीको छ । साथै सिनेमा अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा रिलिज भएकाले पनि दर्शकको राम्रो साथ मिल्ने बितरक सुनिल मानन्धर बताउँछन् ।

लगातार असफलता भोगिरहेका आर्यनका लागि डिसेम्बर फल्स अग्नि परीक्षा समेत हो । सिनेमालाई रामप्रसाद रिजालले राजकुमार भट्टसँग मिलेर निर्माण गरेका हुन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गरेको छ ।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको सिनेमामा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ ।