फेरी सर्यो ‘मनसँग मन’, अब माघ २७ मा हुनेछ रिलिज

फेरी सर्यो ‘मनसँग मन’, अब माघ २७ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति पुनः पोस्टपोन्ड भएको छ । यसअघि पहिलो पटक २०७७ सालको चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण सिनेमा रिलिज हुन पाएन । महामारी मत्थर भएपछि माघ २० गतेलाई प्रदर्शन मिति तोकियो । तर, फेरि सिनेमाको रिलिज सरेको छ ।

निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२३ तथा राष्ट्रिय टोपी दिवसको अवसर पारेर आगामी माघ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पुष्प अभिनीत सिनेमा ‘तिम्रो मेरो साथ’ पुष २९ गते रिलिज हुन लागेकाले एक महिनाको ग्याप राख्न ‘मनसँग मन’लाई पूर्वनिर्धारित मितिभन्दा एकसाता पछाडि धकेलिएको हो । अब यो मितिबाट सिनेमा नसर्ने निर्देशक कैलाश राईले बताए ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको संयुक्त ब्यानरमा अरुण तामाङले निर्माण गरेको सिनेमामा वर्षा र पुष्पका अलावा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय रहेको छ । ‘चालबाज’ नाममा छायांकन गरिएको सिनेमाको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । सिनेमाको कथा तथा पटकथा निर्देशक राईले लेखेका हुन् ।

पहिलो पटक पुष्प र वर्षाले एकसाथ सिनेमामा काम गरेका हुन् । सिनेमाको ‘मेरो त भाग्य’ बोलको गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् । सस्पेन्स तथा लभस्टोरी कथामा निर्माण भएको सिनेमाको अधिकांश छायांकन दार्जिलिङमा गरिएको हो । सिनेमामा सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ ।