हरर सिनेमा ‘चि मुसी चि’को बुकिङ खुल्यो

हरर सिनेमा ‘चि मुसी चि’को बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अर्थात् भोलिबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको छ ।

प्रियंका कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिशा हमाल, रविन्द्र झा अभिनित हरर थ्रिलर सिनेमालाई मल्टिप्लेक्सले राम्रो शोज उपलब्ध गराएका छन् । हलिउड सिनेमा ‘अवतार: द वे अफ वाटर’को दवदवाको वावजुत मर्ण जेम्स र यश सैनी निर्देशित सिनेमाले मल्टिप्लेक्सका ४०.३२ प्रतिशत शोज प्राप्त गरेको छ ।

निर्माण पक्षले ‘चि मुसी चि’ अहिलेसम्म कै उत्कृष्ट हरर सिनेमा बनेको दावी गरेको छ । नेपालमा बिरलै बन्ने हरर जनराले दर्शक भने रिझाउन सकेका छैनन् । आशा गरौँ, ‘चि मुसी चि’ अपवाद बन्नेछ । मर्ण र यश कै कथा/पटकथा रहेको सिनेमामा ऋचा, प्रियंका, बेनिशा, आयुषमान र रविन्द्रसंगै राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

साताको शोज 

यो शुक्रबारका लागि ठुला मल्टिप्लेक्सले अन्य साताको भन्दा कम शो निकालेका छन् । १८६ शोज मध्ये ‘चि मुसी चि’ले ४०.३२ प्रतिशत शो आफ्नो पक्षमा पारेको छ ।

देशकै ठुलो मल्टिप्लेक्स चेनमा ३४ शोज प्राप्त गरेको सिनेमाले आइएनआइ र वान सिनेमाजको चेनमा समान ७/७ शो लिएको छ ।

सिनेप्लेक्स चेनमा ६ शो पाएको सिनेमाले बिग मुभिज/सिडिसीमा समान ४/४, बिएसआर/रन्जना सिनेप्लेक्स/एफक्युबमा ३/३ र किर्तिपुर सिनेप्लेक्स/क्युज सिनेमाजमा समान २/२ शो पाएको छ ।

शुक्रबारबाट चौथों साता प्रवेश गर्ने हलिउड सिनेमा ‘अवतार २’ पहिलो स्थानमा यथावत रहनेछ । ८९.९० प्रतिशत शोबाट प्रदर्शन सुरु गरेको ‘अवतार २’ले चौथों सातामा ४१.३९ प्रतिशत शो पाएको छ ।

गत शुक्रबार रिलिज भएको आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर ‘डिसेम्बर फल्स’ ८.६० प्रतिशत शोमा खुम्चिएको छ ।

यस्तै ६.४५ प्रतिशत शो ‘सर्कस’ले पाउँदा २.१५ प्रतिशतमा ‘महापुरुष’ र १.०७ प्रतिशतमा ‘दृश्यम २’ यथावत छन् ।