anmol jasita

सुशिल र शिक्षा अभिनित ‘द आउट ल’को ललितपुरबाट छायांकन सुरु

सुशिल र शिक्षा अभिनित ‘द आउट ल’को ललितपुरबाट छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहने सिनेमा ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै ललितपुर नजिकैको एक भव्य सेटबाट छायांकन पनि सुरु गरिएको हो ।

अबको ४० दिनभित्र छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ । रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने सिनेमाको अंगेजी नयाँ बर्षमा फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको थियो, जसले दर्शकमा सिनेमाप्रति उत्सुकता र कौतुहलता बढाएको छ । सिनेमामा सुशीलको जोडी अभिनेत्री शिक्षा संर्गौलासँग बाँधिएको छ ।

नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहने सिनेमा एक्सन-थ्रिलर जनरामा निर्माण हुनेछ । आगामी वर्षको दशैं आसपासमा सिनेमा प्रदर्शन हुनसक्ने निर्माता शशांक खड्काले बताए । स्क्रिप्टदेखि कास्ट एन्ड क्रियूसम्म राम्रो रहेकाले सिनेमा पनि राम्रो बन्नेमा उनी आशावादी छन् । कानुन नमान्ने व्यक्तिको कथामाथि सिनेमा निर्माण हुँदैछ ।

कोरोना महामारीपछि एउटा राम्रो कथा र टिमसँग काम गर्न पाउँदा खुसी लागेको अभिनेता सुशील श्रेष्ठले बताए । शशांक खड्का र अमित अग्रहरीको लगानी रहने सिनेमाको कार्यकारी निर्माता विनोद कडायत हुन् । नविन गुरुङ डीओपी रहेको सिनेमा २ करोड हाराहारीको बजेटमा निर्माण हुनेछ । सिनेमाको अधिकांश दृश्य काठमाडौं उपत्यकाभित्रै खिचिनेछ ।