नेफ्टा अवार्डले थाल्यो तयारी, काठमाडौं ओर्लिए आयोजक

नेफ्टा अवार्डले थाल्यो तयारी, काठमाडौं ओर्लिए आयोजक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा अवार्ड नेफ्टाको ११ औं संस्करण अमेरिकामा हुँदैछ । आगामी जेठ १३ गते (२७ मे, २०२३)मा नेफ्टाको आगामी संस्करण अमेरिकी राज्य टेक्ससमा हुँदैछ । उल्टो गणना सुरु भैसकेको छ र आयोजकले तयारीलाई तीव्र तुल्याएको जनाएको छ ।

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले चलचित्र प्राविधिक संघ (नेफ्टा)ले युएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । अवार्ड तयारीका लागि युएस खबरका ओम आचार्य र फेम नेपालका विमल पछाइ शनिबार काठमाडौं ओर्लिएका छन् ।

आयोजक संस्थाका यी दुईजना सदस्यलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ‘दुई महिनासम्म नेपालमा रहेर हामीले अवार्डको तयारीलाई तीव्र तुल्याउनेछौं’ आचार्यले भने, ‘अवार्डलाई सभ्य र भव्य तुल्याउन प्रयत्नशिल हुनेछौ ।’ अबको केही महिना नेफ्टाले व्यवसायिक सहकार्यको तयारी गर्ने भएको छ ।

यसका लागि टाइटल, पावर्डदेखि एसोसिएट स्पोन्सरसँग सहकार्य गर्ने जानकारी दिइएको छ । २०७९ मा प्रदर्शनमा आएका सिनेमालाई जुरीले हेर्ने र उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्ने तयारी पनि छ । साथै, अवार्डको लागि कलाकारले नृत्य अभ्यास पनि गर्नेछन् । १२ वर्षदेखि नेफ्टाले अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

अवार्डमा भाग लिन नेपालबाट कलाकारहरु अमेरिका जानेछन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाली सिनेमाले गौरवमय पाँच दशकभन्दा बढी समय पार गरिसकेको सन्दर्भमा अवार्ड महत्वपूर्ण हुने आशा नेफ्टाले लिएको छ ।

नेपालसहित मलेसिया, हङकङ, कतार र युएईको दुबइमा कार्यक्रम सम्पन्न भैसकेको छ । पाँचौपटक विदेशी भूमिमा आयोजना गर्न लागिएको अवार्ड आयोजनाको उद्देश्य नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु रहेको अध्यक्ष लामाले बताए । २०५६ सालमा स्थापना भएको नेफ्टाले आफ्ना ३५०० सदस्यको क्षमता अभिवृद्धि र विस्तारमा पनि अवार्ड सहायक हुने अपेक्षा गरेको छ ।