‘ह्यारीकी प्यारी’ मेरो करिअरको परिक्षा र कोसेढुंगा – जितु नेपाल

‘ह्यारीकी प्यारी’ मेरो करिअरको परिक्षा र कोसेढुंगा – जितु नेपाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता जितु नेपालले सिनेमा ‘ह्यारीकी प्यारी’ आफ्नो करिअरको लागि नयाँ परिक्षा भएको बताएका छन् ।

उनि आफ्नो २५ वर्षीय सिने करिअरमा पहिलो पटक लिड कलाकार भएर ‘ह्यारीकी प्यारी’मा अभिनय गरेका छन् । हास्यकलाकारको रुपमा दर्शक माँझ परिचित जितुले ‘ह्यारीकी प्यारी’बाट आफ्नो छविमा परिवर्तन आउने आशा राखेका छन् ।

राजधानीमा आयोजित ट्रेलर लन्च कार्यक्रममा बोल्दै गर्दा जितु उत्साहित देखिए ।

‘२०४९ सालदेखि म निरन्तर छु । जिन्दगी परिक्षा रहेछ । ट्वाक्क-टुक्कमा सानोतिनो रोल गरियो । सँगालोहुँदै मुक्तिमा सचिव भएँ । दर्पण छायाँ खेलें, दुई किनारा खेलें, छ एकान छदेखि सहकार्य गरेर साथीहरुसंग गएँ । बिचमा मुन्द्रे भएँ, गिताञ्जली चलाएँ । फेरि अहिले ह्यारी भएँ । यो जीवन परिक्षै रछ ।’ जितुले विगत सम्झिए ।

‘फेरि परिक्षामा छु । साथिहरुसंग छ एकान छमा नायक बनेँ । ह्यारीकी प्यारीमा म हास्यकलाकारको रुपमा छैन । यहाँ म कम्फर्ट जोनदेखि बाहिर रहेर अभिनय गरेको छु । २७-२८ भन्दा घटी टेक कहिलेपनि भएन । भोलिका दिनमा मैले यस्तो सिनेमा सायदै पाउने छु । यो मेरो जीवनको कोसेढुंगा नै हो ।’ जितुले भने ।

सिनेमामा ह्यारीकी प्यारी बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जितु नेपाल आफ्नो अपोजिटमा सुन्दा पहिला अचम्म लागेपनि कथामा जितु नै सुहाउने धारणा व्यक्त गरिन ।

‘हाम्रो प्रोडक्सन म्यानेजर नगेन्द्र दाईले सुरुमा सिनेमा अफर लिएर आउनु भएको थियो । उहाँसंगको एक चरण कुरापछि स्क्रिप्ट सुन्ने निधो गरें । त्यसपछि निर्देशक कपिल रिजालले स्क्रिप्ट सुनाउनु भयो । मलाई उत्कृष्ट लाग्यो । मैले पात्रमा आफुलाई महसुस गरें । त्यसपछि उहाँले हिरोको रुपमा जितु नेपाल दाईको नाम लिनु भयो । त्यसपछि म छक्क परें । अनि सिनेमाको कथा एकपटक फेरि सम्झिँदा जितु दाई नै कथाको माग भएको भान भयो ।’ साम्राज्ञीले जितुसंग काम गर्दा धेरै सिक्न पाएको र रोमान्टिक कमेडी जनरामा सिनेमा उत्कृष्ट बनेको दावी गरिन ।

डा. कपिल रिजालको डेब्यु निर्देशनमा बनेको सिनेमाले सर्तसहितको विवाहले पात्रको जीवनमा आउने उतारचढावको कथा भन्छ ।

आइतबार सार्वजनिक भएको ट्रेलरले दर्शक राम्रो साथ र प्रतिक्रिया पाइरहँदा निर्माण पक्ष उत्साहित देखिएको छ ।

सिनेमामा जितु र साम्राज्ञीसंगै विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

यो सिनेमा माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदै छ ।