‘ह्यारीकी प्यारी’को मोफसल टूर सुरु, चितवनहुँदै विर्तामोडमा टुंगिने

‘ह्यारीकी प्यारी’को मोफसल टूर सुरु, चितवनहुँदै विर्तामोडमा टुंगिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘ह्यारीकी प्यारी’ मोफसल टूरमा निस्किएको छ ।

पश्चिम नेपालको नेपालगंजदेखि अनौपचारिक रुपमा सुरु भएको टूर चितवनबाट औपचारिक रुपमा अगाडी बढ्नेछ । डा. कपिल रिजाल निर्देशित सिनेमाको टिम शनिबार बिहान पर्यटकीय नगरी चितवन पुगेको छ ।

चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका बिभिन्न माध्यमसंग जोडिनेछ । त्यहाँ चितवन महोत्सवमा दर्शक माझ पुग्ने र चितवनका मिडियासंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मोफसल टूरमा निर्देशक रिजालसंगै, जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको साथ रहनेछ ।

साथै टूरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सहभागी हुनेछन । टूरमा यी कलाकारहरुको प्रस्तुति हेर्न पाइनेछ । माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टूर चितवनपछि पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर टुंगिनेछ ।

यी शहरहरुमा निर्माण टिमले महोत्सवसंगै बिभिन्न क्याम्पस, मल र मिडियासंग अन्तरक्रिया गर्नेछ । विर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरिएको छ ।

माघ २० देखि अलनेपाल प्रदर्शनमा आउन लागेको सिनेमामा जितु र साम्राज्ञी शिर्ष भूमिकामा छन् । सिनेमामा सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।