सौरभको ‘अगस्त्य’मा सौगात मल्ल अनुबन्धित

सौरभको ‘अगस्त्य’मा सौगात मल्ल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै सिनेमामा सौगातको अभिनय रहने जानकारी दिइएको हो ।

‘मिस्टर भर्सटायल’को उपाधि दिइएको सिनेमामा सौगात अगस्त्यको भूमिकामा रहनेछन् । सिनेमाका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । सौरभ स्वयंको लेखन रहेको सिनेमालाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा सिनेमा खिच्ने जिम्मेवारी छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । सिनेमामा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ । दुई श्रृंखलामा निर्माण हुने सिनेमाको दुवै भागको स्क्रिप्ट भने तयार भैसकेको छ ।

हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट सिनेमाको नाम जुराइएको हो । आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी गरिएको सिनेमा एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए । उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । निर्माता मल्लले कथा सुनेपछि सिनेमा निर्माणका लागि तयार भएकाले सिनेमा स्तरीय बन्ने विश्वास व्यक्त गरे ।