द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको हो ।
सिनेमालाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । सिनेमामा स्वस्तिमा बिपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् । सिनेमामा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिएका छन् ।
‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि निर्माण हुन लागेको हो । ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने सिनेमाको पर्दामा देखिने छैनन् । ‘पशुपति प्रसाद’मा पशुपति मरेपछि सिनेमा सकिएको थियो । ‘पशुपति प्रसाद’मा विपीनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो । सिनेमाको कथा खगेन्द्र लामिछानेले लेखेका छन् ।
आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर सिनेमाको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । आगामी दशैं सिनेमा रिलिज गर्ने योजना छ । सिनेमा घोषणा भएदेखि नै दर्शकमाझ प्रतिक्षित छ ।
प्रतिक्रिया