देव कुमार श्रेष्ठको निर्देशनमा ‘सिड्नी’ बन्ने, सविन र रीमाको जोडी बाँधिने

देव कुमार श्रेष्ठको निर्देशनमा ‘सिड्नी’ बन्ने, सविन र रीमाको जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमाको आइतबार माघेसंक्रान्तिको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो ।

अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि बन्ने सिनेमाको छायांकन आगामी बैशाखबाट गरिनेछ । सिनेमामा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ । सिनेमाले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । सिनेमाले अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नुपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।

ओएमजी इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि सिनेमाका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । अम्बर रसाइली प्रस्तुतकर्ता रहेको सिनेमाको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् ।

युगलध्वज कार्कीको लेखन रहेको सिनेमालाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । सिनेमाको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने सिनेमा स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । सिनेमाको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।

कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन सिनेमा गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’ यस्तै, अभिनेत्री रीमा विश्वकर्माले पनि कथावस्तुले आफूलाई सिनेमामा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक सिनेमामा स्क्रिन शेयर गर्न उत्साहित रीमा बताउँछिन् ।