स्पेशल शोमा रुचाइयो ‘तिम्रो मेरो साथ’, प्रतिक्रियाले उत्साहित निर्माण पक्ष

स्पेशल शोमा रुचाइयो ‘तिम्रो मेरो साथ’, प्रतिक्रियाले उत्साहित निर्माण पक्ष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’ले स्पेशल शोमा राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

सोमबार राजधानीको बिग मुभिजमा आयोजित स्पेशल शोमा आगन्तुक पाहुनाले सिनेमा उत्कृष्ट बनेको दावी गरे ।

सिनेमाको कथा, लोकेशन, संगीत, कलाकारको अभिनय र सस्पेन्स पक्षको पाहुनाले खुलेर तारिफ गरे ।

रमेश एमके पौडेल निर्देशित सिनेमा हेर्न निर्माता छवि ओझा, गायक रामकृष्ण ढकाल, कलाकार निर्मल शर्मा, नेहा राज्यलक्ष्मी शाह, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, वितरक गोपाल कायस्थलगायतको उपस्थिति थियो ।

स्पेशल शोपछि मिडियासंगको कुराकानीमा निर्देशक पौडेलले सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको र हलवालाले राम्रो शो दिएकोमा खुसि व्यक्त गरे ।

‘जतिपनि दर्शकले हेर्नु भएको छ । राम्रो प्रतिक्रिया पाएका छौं । राम्रो शो प्रदान गरिदिनु भएकोमा वितरक र हलवालालाई धन्यवाद दिन चाहन्छु ।’ बिहानी शोजमा दर्शक संख्या कम भएपनि दिउँसो र रात्रीकालिन शोजमा राम्रो उपस्थिति रहेको पौडेलले बताए ।

अभिनेता पुष्प खड्काले दर्शकलाई सिनेमाको सस्पेन्स पक्षले बाँधेर राखेको र प्रतिक्रिया उत्कृष्ट पाएको बताए ।

‘कति जना पूर्णत लभस्टोरी सिनेमा भनेर झुक्किनुपनि भएछ । सिनेमाको सस्पेन्स र थ्रिल, कथामा आउने ट्विस्ट र मोडमा दर्शकले मनोरंजन लिइरहनु भएको छ । राम्रो प्रतिक्रिया पाएका छौं । हामीले कथामा दिन खोजेको सस्पेन्स र ट्विस्टमा दर्शकले मज्जा लिइरहँदा हामि हाम्रो प्रयास सफल भएको महशुस गरेका छौं ।’ पुष्पले भने ।

अर्का अभिनेता सन्दीप क्षेत्रीले सिनेमाबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए ।

‘जुन किसिमको सिनेमा बनाएका थियौं । दर्शकलाई मन परेको छ । उहाँहरुको प्रतिक्रियाले उत्साहित बनाएको छ । आशा छ एउटा राम्रो सिनेमालाई दर्शकले अझ राम्रो साथ दिनु हुनेछ ।’ सन्दीपले सिनेमा हेरिदिन आग्रहपनि गरे ।

सिनेमाकी मुख्य अभिनेत्री साम्राज्ञी भने माघ २० मा रिलिज हुने सिनेमा ‘ह्यारीकी प्यारी’को मोफसल टूरमा निस्केको कारण स्पेशल शोमा उपस्थित हुन् सकिनन् ।

पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव ढकालले छायांकन गरेको सिनेमामा सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

निर्देशक पौडेल कै निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।