‘ह्यारीकी प्यारी’मा मलाई फरक कथामा देख्न पाउनु हुनेछ – साम्राज्ञी

‘ह्यारीकी प्यारी’मा मलाई फरक कथामा देख्न पाउनु हुनेछ – साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आगामी सिनेमा ‘ह्यारीकी प्यारी’मा आफुलाई फरक कथामा देख्न पाइने दावी गरेकी छन् ।

मोफसल टूर अन्तर्गत हेटौंडामा सम्पन्न एक कार्यक्रममा बोल्दै साम्राज्ञीले कथा छनोटमा आफुले विविधता दिन नसकेको भन्ने आरोप ‘ह्यारीकी प्यारी’ले चिर्ने बताइन ।

प्रायजस्तो रोमान्टिक सिनेमा गर्ने साम्राज्ञीको यो पहिलो रोमान्टिक कमेडी सिनेमा हो । जहाँ उनको जोडी हास्यकलाकार जितु नेपालसंग बाँधिएको छ ।

डा. कपिल रिजाल निर्देशित सिनेमाले नेपाली समाजको मानवीय सम्बन्धको कथा पेस गर्छ ।

निर्माण पक्षले साता अगाडी ‘कन्टेन्ट र कमेडी’को समिश्रणसहितको ट्रेलर सार्वजनिक गरेको थियो । साढे ७ लाख बढी भ्युज पाइसकेको ट्रेलरमा दर्शक प्रतिक्रिया सकारात्मक देखिएको छ ।

ट्रेलर रिलिजपछि ‘ह्यारीकी प्यारी’को कन्टेन्ट बलिउड सिनेमा ‘विक्की डोनर’संग जोडेर गरिएको तुलनालाई निर्देशक रिजालले अस्विकार गरे ।

‘करोडौं रुपैयाँ खर्च गरेर कसैलेपनि फोटोकपि गर्दैन । ट्रेलरमा वीर्यदानको केहि प्लट भएकाले त्यस्तो लाग्न सक्छ । तर सिनेमाको कथा फरक छ । वीर्यदानको एउटा प्लट मात्र हो । यो पूर्णत नेपाली समाजसंग जोडिएको कथा हो । यसमा मनोरंजनसंगै शिक्षापनि प्राप्त गर्न सकिनेछ ।’ निर्देशक रिजालले प्रष्ट पारे ।

सिनेमाका शिर्ष कलाकार जितु नेपालले ‘ह्यारीकी प्यारी’ले नयाँ चरित्रमा देखिने आफ्नो चाहना पुरा गरिदिएको बताए ।

सिनेमा जितु र कलाकार विजय बराल काका-भतिजको भूमिकामा देखिएका छन् । विजयले राम्रो सिनेमा बनेको भन्दै दर्शक एकपटक हेरिदिन आग्रह गरे ।

नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको सिनेमा माघ २० देखि अलनेपाल सार्वजनिक प्रदर्शनमा आउदैछ । नेपाल रिलिजपछि अन्य देशमा सिनेमा प्रदर्शन हुनेछ ।

जितु, साम्राज्ञी र विजयसंगै सिनेमामा लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।