‘प्रेमगीत ३’देखि ‘झिंगेदाउ’, ‘प्रकाश’सम्म लण्डनमा आयोजित महोत्सवमा देखाइने

‘प्रेमगीत ३’देखि ‘झिंगेदाउ’, ‘प्रकाश’सम्म लण्डनमा आयोजित महोत्सवमा देखाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायतमा आयोजना हुन लागेको ‘नेपाली सिनेमा महोत्सव २०२३’मा स्क्रिनिङ हुने नेपाली सिनेमाको सूचि र उपस्थित हुने कलाकारको नाम सार्वजनिक गरिएको छ ।

नेपालीहरुको उल्लेख्य रुपमा बासोबास रहेको बेलायतमा ‘थर्ड आइ’को आयोजनामा ८ दिनसम्म चल्ने महोत्सवमा ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायतका सिनेमाहरु स्क्रिनिङका लागि छनोट भएका छन् । विश्व बजारमा नेपाली सिनेमाको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको थर्ड आइका निर्देशक विकास देवकोटाले बताए ।

उनले भने, ‘नेपालीमा के-कस्ता सिनेमाहरु निर्माण भैरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाल चिनाउने सिनेमा छानेका छौँ । यो महोत्सवले बेलायतमा नेपाली सिनेमाको बजार बढाउनेमा हामी विश्वस्त छौं ।’ नेपाली सिनेमा महोत्सवमा सहभागी हुन नेपालबाट एक दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरु बेलायत जानेछन् ।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा, विल्सन विक्रम राई, यश कुमारलगायत छन् । नेपाली सिनेमा महोत्सव आगामी १८ देखि २५ फेब्रुअरीसम्म सञ्चालन गरिनेछ ।